नेपाल राष्ट्र बैंकले दसैँ तिहारका लागि नयाँ नोट क्यूआरमार्फत वितरण गर्ने भएको छ । बैंकले डिजिटल कारोबारलाई प्राथमिकता दिँदै क्यूआरमार्फत नोट वितरण गर्न लागेको हो ।
अर्थात् बैंकमा नयाँ नोट साट्न जाने ग्राहकले अब पैसा बोकेर जानु पर्ने छैन । नयाँ नोट आवश्यक पर्ने जो कोहीले क्यूआरमार्फत भुक्तानी गरेर राष्ट्र बैंकबाट नयाँ नोट लिन सक्ने छन् । यस्तो क्यूआर सुविधा राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सबै सटही काउन्टरहरूमा उपलब्ध हुने छ ।
क्यूआर कोर्डबाट भुक्तानी गरी नयाँ नोट साट्न पाइने व्यवस्था गरेपनि नोट लिएर आउनेलाई पनि नयाँ नोट साटिने राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोखरेलले बताए । तर, नयाँ नोट कहिलेदेखि सटही गर्ने भन्ने विषयमा अहिले नै निर्णय भइनसकेको राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोखरेलले बताए । घटस्थापना पछिबाट नै नोट वितरण गर्न सुरु गरिने उनको भनाइ छ ।
पोखरेलले भने, ‘नयाँ नोट कहिलेदेखि बैंक तथा वित्तीय संस्थालाई र सर्वसाधारणलाई दिने भन्ने विषयमा आधिकारिक निर्णय भएको छैन, हामी आन्तरिक छलफलमै छौ ।’ उनले कति नयाँ नोट आवश्यक पर्ने हो भनेर हामीले राखेका नोटकोष र प्रादेशिक कार्यालयलाई विवरण माग गरेको बताए ।
यस वर्ष पनि विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एक–एक गड्डी गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ कम नहुने गरी नयाँ नोट सटहीको सुविधा प्रदान गरिने उनले बताए । यद्यपी कति परिमाणमा नयाँ नोट वितरण गर्ने भनेर आधिकारिक निर्णय भइनसकेको उनको भनाइ छ ।
यस वर्ष पनि ४० अर्ब जति नयाँ नोट बजारमा जाने उनको अनुमान छ । उनले भने, ‘यत्तिनै खपत हुन्छ भन्ने त छैन तर अघिल्लो वर्षको तुलनामा त्यही ३५–४० रुपैयाँ अर्ब जति बजार जान सक्ने अनुमान गरिएको छ ।’
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया