एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


एनआईसी एशिया बैंक र एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । दुई बैंकहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज १६ गते बुकक्लोज गर्दैछन् ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनआईसी एशिया बैंक लिमिटेडले असोज २८ गते आइतबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाण्डौंमा बिहान ९ बजे छब्बीसौं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकले दशै अघि नै लाभांश पारित गर्ने गरी सभा बोलाएको छ ।

यस्तै सभाले चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३६६ रुपैयाँको २९ प्रतिशतले हुन आउने ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६ रुपैयाँ बराबरको बोनस सेयर र १७ करोड ६५ लाख ३ हजार २४० रूपैयाँ गरी कुल ३ अर्ब ५३ करोड ६४ हजार ७९६ रुपैयाँ बराबरको नगद लाभांश अनुमोदनको प्रस्ताव पारित गर्नेछ ।

यस्तै एभरेष्ट बैंक लिमिटेडले असोज ३० गते बिहान ११ बजे २९ औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद ( कर प्रयोजन समेत) गरी कुल २०.५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।