
सुदूरपश्चिम प्रदेशको भ्रमणमा जाने आन्तरिक पर्यटकको भ्रमण अवधि २.६ दिन रहेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको स्थलगत अध्ययन अनुसार सुदूरपश्चिममा २.६ दिन भ्रमण गरेर आन्तरिक पर्यटकले साढे १६ हजार रुपैयाँ खर्च गर्ने गरेको पाइएको हो ।
केन्द्रीय बैंकको अध्ययन अनुसार सुदूर–पश्चिमको धार्मिक पर्यटनका लागि जाने आन्तरिक पर्यटनले प्रति पर्यटक औसत खर्च १६ हजार ५६७ रुपैयाँ खर्च गर्ने गरेका छन् । पर्यटकले यो खर्च होटलको बसाई, यातायात, खाना तथा उपहारका लागि खर्चने गरेका हुन् ।
अध्ययन प्रतिवेदन अनुसार होटलको भुक्तानी नगदमै हुने गरेको देखिएको छ । कुल पर्यटक मध्ये ३८.३० प्रतिशतले होटलको भुक्तानी नगदमा नै गर्ने गरेको अध्ययनले औंल्याएको छ । त्यसैगरी क्यूआर मार्फत २७.६६ प्रतिशत भुक्तानी हुने गरेको छ भने १२.७७ प्रतिशत इन्टरनेट बैंकिङ्गबाट तथा बाँकी भुक्तानी कार्ड र डिजिटल माध्यमबाट हुने गरेको देखिएको छ ।
धार्मिकस्थलको भ्रमण गर्ने ४६.६७ प्रतिशत आन्तरिक पर्यटकको मुख्य पेशा नोकरी तथा २१.११ प्रतिशत पर्यटकको मुख्य पेशा व्यापार रहेको अध्ययनले औंल्याएको छ । सुदूरपश्चिम भ्रमणमा जाने आन्तरिक पर्यटकहरुमध्ये ५४.४४ प्रतिशतले परिवारका सदस्य सहित धार्मिकस्थलको भ्रमण गरेको देखिएको छ । त्यसैगरी २२ प्रतिशत पर्यटक परिवारका सदस्य बाहेक अन्य समूहगत रुपमा भ्रमण गर्ने गरेको अध्ययनमा उल्लेख छ ।
अध्ययनले धार्मिक स्थलको भ्रमण गर्ने २६ देखि ३५ वर्ष उमेर समूहका आन्तरिक पर्यटकहरुको संख्या सबैभन्दा बढी ३६.६७ प्रतिशत रहेको छ । ५६ देखि ६५ र ६६ देखि ७६ वर्ष भन्दा बढी उमेर समूहका पर्यटकको संख्या सबैभन्दा कम ४.४४ प्रतिशत रहेको छ । सर्वेक्षणमा सहभागी ६६.६७ प्रतिशत पर्यटकले आफ्नो मनोकाङ्क्षा प्राप्तिको लागि गरेको भाकल÷वाचा पूरा गर्ने उद्देश्यले धार्मिकस्थलको भ्रमण गरेको देखिएको छ ।
सर्वेक्षणमा सहभागी भएका आन्तरिक पर्यटकहरुको कुल भ्रमण खर्चमध्ये यातायातमा सबैभन्दा बढी ४६ प्रतिशत खर्च भएको देखिएको छ । होटलमा खान तथा बस्न र पूजा सामाग्री, उपहार खर्चका लागि क्रमशः २६ प्रतिशत मात्र खर्च लाग्ने गरेको अध्ययनले देखाएको छ ।
सुदूरपश्चिम क्षेत्रका होटलहरुको मासिक औसत अकुपेन्सी ४० प्रतिशत छ । सो क्षेत्रका होटलहरुमध्ये ४२ प्रतिशत होटलहरु केवल सुविधा विस्तार गर्ने र ३९ प्रतिशत होटलहरु क्षमता विस्तार गर्ने योजनामा रहेको अध्ययनले देखाएको छ । त्यसैगरी १५ प्रतिशत मात्र हालको अवस्थामा यथावत रुपमा होटल सञ्चालन गर्ने योजनामा रहेका छन् भने ४ प्रतिशत व्यवसायीको होटल व्यवसाय बन्द गर्ने योजना रहेको अध्ययनले देखाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहु










प्रतिक्रिया