
व्यापारिक घराना यती ग्रुपको लगानी रहेको मुस्ताङ माउन्टेन होम लिमिटेडले मुस्ताङको मार्फामा विलासी रिर्सोट निर्माण गरिरहेको छ । उक्त रिर्सोट सन् २०२३ को डिसेम्बर महिनाबाट सञ्चालनमा आउने भएको हो ।
कुल ३५ हजार १०३ वर्ग मिटर जग्गामा निर्माण भइरहेको उक्त रिसोर्टमा कुल २९ वटा सुइट रुमहरु रहेका छन् । जोमसोम एयरपोर्ट देखि १.४ किलोमिटर र प्रख्यात धार्मिक स्थल मुक्तिनाथ मन्दिरदेखि २४ किलोमिटर दूरीमा रहेको यो रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकहरुको मुख्य आकर्षणमा पर्ने विश्वास गरिएको छ ।
रिसोर्ट व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी बैङ्कक आधारित होटल व्यवस्थापन कम्पनी–शिन्ता मनीले लिएको छ । यो ब्रान्ड अन्तर्गतका सम्पूर्ण होटलहरुको डिजाइनको जिम्मेवारी बिल बिन्स्लीले लिएका छन् । शिन्ता मनी कम्पनीसँग होटल व्यवस्थापनको सम्झौता गरेपछि हाल रिसोर्टमा मोडिफिकेसनको काम भइरहेको छ । सम्झौता हुनु अगावै रिसोर्ट मोक्ष मुस्ताङ रिसोर्टको नामबाट सञ्चालनमा थियो । सन् २०२३ को डिसेम्बर महिनाबाट रिसोर्ट ‘शिन्ता मनी मुस्ताङ’ ब्रान्ड नामबाट सञ्चालनमा आउने छ ।
यो रिसोर्ट निर्माणमा १ अर्ब ३९ करोड ९० लाख लागत खर्च भएको छ । जसअन्तर्गत कुल लागतको ६१ प्रतिशत हिस्सा कर्जा र ३९ प्रतिशत हिस्सा लगानीकर्ताहरुको लगानी रहेको छ । कम्पनीले ६६ करोड १० लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । ६५ करोड १० लाख बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी केयर नेपालले बी प्लस र १ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए–४ रेटिङ गरेको छ ।
विगत २५ वर्षदेखि नेपालमा पर्यटन प्रवद्र्धन गर्दै आएको यती ग्रुपको लगानी रहेको रिसोर्ट लक्पा सोनाम शेर्पाको नेतृत्वमा सञ्चालन हुनेछ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्नका लागि रिर्सोटले केही विशेष सुविधाहरुको वयवस्था समेत गरेको छ । फूड एन्ड बेभरेज सेवाका साथै रिर्सोटले ट्रेकिङ, हर्स–राइडिङ, रक–क्लाइबीङ, साइक्लिङ, आर्चरी, हाइकिङ, हेलिकप्टर टूरको सेवा समेत उपलब्ध गराउनेछ ।
पछिल्लो समयमा पर्यटन क्षेत्रमा नेपाल सरकारले राम्रो लगानी गरेको छ । मुस्ताङ आफैँमा प्रचुर सम्भावना बोकेको पर्यटकीय स्थल हुँदा कम्पनीले रिर्सोट निर्माणमा लागेको लागत आर्जन गर्नका लागि केही समय लागेता पनि भविष्यमा राम्रो सम्भावना बोकेको रिर्सोटले राम्रो आम्दानी गर्ने आंकलन गरिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया