वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भदौ महिनामा १ खर्ब १२ अर्ब ३५ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) पठाएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह २२.१० प्रतिशतले वृद्धि भई २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ पुगेको हो ।
अघिल्लो आवको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाह १९.८० प्रतिशतले बढेको थियो । चालु आवको पहिलो महिना–साउनमा १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । साउनको तुलनामा भदौमा ३ अर्ब ६७ करोड रुपैया थोरै रेमिट्यान्स भित्रिएको हो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । भदौसम्म अमेरिकी डलरमा रेमिट्यान्स १ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८.३० प्रतिशतले कमी आई ७४ हजार ४५५ रहेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८.३० प्रतिशतले कमी आई ३२ हजार चार छ । अघिल्लोवर्षको सोही अवधिमा यस्तो संख्या ७०.६० प्रतिशतले बढेको थियो ।
यसैगरी राष्ट्र बैंकका अनुसार खुद ट्रान्सफर २१.९ प्रतिशतले वृद्धि भई २ खर्ब ५१ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १९.५ प्रतिशतले बढेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया