
चालु आर्थिक वर्षको भदौ महिनामा महंगी आकाशिएको छ । साउनको तुलनामा भदौ महिनामा मूल्यवृद्धि दर ०.६७ प्रतिशत विन्दुले बढेको हो ।
भदौ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.६४ प्रतिशत रहेको थियो । यस महिनामा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति दर बढेर ९.७४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति दर बढेर ६.९९ प्रतिशत पुग्दा उपभोक्ता मूल्यवृद्धि दर बढेको हो ।
अर्थमन्त्री प्रकाश शरण महतले संसदमा बजेट पेश गर्दा चालु आवको मूल्यवृद्धि दर ६.५० प्रतिशत कायम गर्ने लक्ष्य सार्वजनिक गरेका थिए । तथापि बजेट भाषणको ठिक विपरित मुद्रास्फीति दर बढ्दै गएको छ । यसबाट नेपाल राष्ट्र बैंकको मौद्रिक नीति मुद्रास्फीति नियन्त्रण गर्नमा असफल मान्न सकिन्छ ।
भदौ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गतको मरमसलाको वार्षिक मूल्य ४५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको मूल्य १७.८६ प्रतिशत, तरकारीको १४.५१ प्रतिशतले बढेको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार खाद्य तथा खाद्यजन्य पदार्थको १३.३८ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२.६० प्रतिशत र रेष्टुरेण्ट तथा होटलको १०.९७ प्रतिशतले बढेको छ । तथापि भदौ महिनामा घ्यू तथा तेलको मूल्य १३.०८ प्रतिशतले घटेको छ । यस्तै यातायातको मूल्य ०.१८ प्रतिशतले घटेको हो ।
साथै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृतिको उपभोक्ता मूल्य सूचकाङ्क १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १२.२१ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.११ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ६.५९ प्रतिशतले बढेको छ ।
हिमालमा मूल्यवृद्धि सर्वाधिक
भाद्र महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति दर हिमाल क्षेत्रको रहेको छ । हिमालको ११.३२ प्रतिशत, पहाडको ८.०९ प्रतिशत, काठमाडौँ उपत्यकाको ९.८३ प्रतिशत र तराईको ७.०३ प्रतिशत रहेको छ । २०७९ भदौ महिनामा उपत्यकाको ७.६२ प्रतिशत, पहाडको ९.३३ प्रतिशत, तराईको ८.८२ प्रतिशत र हिमालको ६.६८ प्रतिशत रहेको थियो ।
भदौ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.७८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १४.०० प्रतिशत रहेको थियो । यसै महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ८.२३ प्रतिशत, ३.१४ प्रतिशत र २.८० प्रतिशत रहेको छ । तथापि भदौ महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ०.०३ प्रतिशतले घटेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया