तराईका सामुदायिक वनहरूले लोभलाग्दो आम्दानी गर्दै आए पनि पूर्वाधारको राम्रो प्रवन्ध नहुँदा पहाडी तथा हिमाली क्षेत्रका समुदायिक वनहरूले सोचे जस्तो आम्दानी गर्न सकेका छैनन् ।
निर्यातका लागि आवश्यकपर्ने पूर्वाधार नहुँदा पर्याप्त वनपैदावार सम्मभावना भएका हिमाली क्षेत्रका सामुदायिक वनहरूले आफ्नो आम्दानीको स्रोत गुमाउनु परेको हो । सामुदायिक वनसम्म पुग्ने यातायात पहुँच नहुँदा वनपैदावार त्यतीकै वनमै सढेर जाने गरेको छ । यातायात साधन पुग्ने बाटो नहुनु, ढुवानी गर्न समस्या हुनुजस्ता कारण हिमाली क्षेत्रका समुदायिक वनहरूले आम्दामीको स्रोत गुमाउनु परेको हो ।
ताप्लेजुङका आधाभन्दा धेरै भूगोल ओगटेको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा सामुदायिक वन क्षेत्र धेरै रहेको छ । दुई हजार ३५ वर्ग किमिमा फैलिएको यस क्षेत्रमा अधिकांश सामुदायिक वन क्षेत्रको हिस्सा रहेको छ । तत्कालीन चार गाविसहरू लेलेप, तापेथोक, याम्फुदिन र ओलाङचुङगोलालाई विसं २०५४ मा पृथ्वीको उपहारका रूपमा घोषणा गरिएदेखि नै यस क्षेत्रको जैविक विविधताको संरक्षण र संवद्र्धन कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनाले गरेको थियो भने हाल यसको दायित्व स्थानीय समुदायबाट गठित कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले गरिरहेको छ ।

अहिले कञ्चनजङ्घा संरक्षण २५ वटा संरक्षण सामुदायिक वनहरू रहेका छन् । ३ दशमलव ५ हेक्टरदेखि २६ हजार पाँच सय आठ हेक्टर क्षेत्रफलसम्मका सामुदायिक वनहरूको कूल क्षेत्रफल ६९ हजार चार सय २६ हेक्टर रहेको छ । यसअघि २६ वटा सामुदायिक वनहरू रहेकोमा फक्ताङलुङ गाउँपालिका–६ को लुङथुङमा रहेको नागथान संरक्षण सामुदायिक वनको जग्गा जिल्ला प्रशासन कार्यालयको नाममा रहेको प्रमाणित भएपछि खारेज गरिएको थियो ।
हाल फक्ताङलुङ–५ मा ६ वटा सामुदायिक वनहरू रहेका छन् । जसमा पताले संरक्षण सामुदायिक वन (१७ हजार दुई सय १७ हेक्टर), सातपत्रे महिला रानीवन (नौ हेक्टर), कापोलुङ (१४ दशमलव ३ हेक्टर), नाम्फुवा (४७७.४ हेक्टर) , निगीजम फुलबारी (११३५.९ हेक्टर), लुकुम्बा फूलबारी (४४२ हेक्टर) रहेको छ ।
त्यस्तै फक्ताङलुङ गाउँपालिका—६ माउजेली पाखा (१४.३८ हेक्टर), वनपाला (८.३ हेक्टर), गुराँसे ९२२.९ हेक्टर), दोरोङ्ग्याबु (६७५ हेक्टर), लुङथुङ (११.९ हेक्टर), दोबाटे (१८७ .९ हेक्टर), लप्सीबोटे (३.५ हेक्टर), थाक्पाखोला (१७.७ हेक्टर), लावाजिन (१४६६.७ हेक्टर), बिगबारी (६७५.७ हेक्टर), कुम्भकर्ण (१० हजार ५२०), हिउँचुली (४०५ हेक्टर) रहेको छ ।
फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा दुई वटा सामुदायिक वनहरू रहेका छन् । जसमा टिप्तला भञ्ज्याङ (२६ हजार ५०८ हेक्टर) र ओमीखाङ्गी (५ हेक्टर) रहेको छ । सिरीजङ्घा–८ याम्फु दिनमा कञ्चनजङ्घा (४ हजार ९०० हेक्टर), पाथीभरा (४०७.३१ ह्ेक्टर), तिम्बुङ पोखरी (३१.५० हेक्टर) देउराली (५ हेक्टर) रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्याङ्कमा रहेको छ । तर यी समुदायिक वनहरूले आम्दानीको स्रोत भने शून्य जस्तै छ ।
यी २५ वटा सामुदायिक वन क्षेत्र बाहेक पनि सरकारी वनहरू रहेको व्यवस्थापन परिषद्ले जनाएको छ । यी सामुदायिक वनमा समावेश हुन नसकेको हिमाली क्षेत्रहरू पनि वन क्षेत्रहरू रहेको पाइएको छ । त्यस्तै निजी वनहरू पनि संरक्षण क्षेत्रमा रहेका छन् । लेलेप, तापेथोक र याम्फुदिनमा निजी वनका रूपमा रहेका वनहरूको क्षेत्रफल कति रहेको छ भन्ने तथ्याङ्क छैन भने निजी तथा धार्मिकरूपमा रहेको वनहरू अहिलेसम्म परिषद्मा दर्ता पनि नभएको परिषद्ले जनाएको छ ।
अहिले यी २५ वटा सामुदायिक वन क्षेत्रको संरक्षण संवद्र्धन र उपयोग पनि स्थानीय समुदायबाट गठित संरक्षण सामुदायिक वन उपभोक्ता समूहबाट भइरहेको छ । परिषद्को गठनको पूर्वसन्ध्यामा गठन हुने यो उपभोक्ता समूहबाट पनि परिषद्मा प्रतिनिधित्व हुने व्यवस्था रहेको छ ।
सामुदायिक वनबाट घरायसी प्रयोजनका लागि प्रयोग हुने काठ, दाउरा, घाँस, जडीबुटी, सोत्तर समुदायले उपयोग गर्दै आएको छ । यो बाहेक व्यापारिक प्रयोजनको लागि सामुदायिक वनबाट कार्ययोजनाअनुसार परिषद्को स्वीकृती लिएर मात्र वन पैदावारको निकासी गर्नुपर्ने कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत लालीगुराँस उपभोक्ता समितिका अध्यक्ष केसिङकुमार लिम्बूले बताए ।
उनका अनुसार अहिले सामुदायिक वनबाट स्थानीय समुदायले कार्ययोजनाअनुसार दैनिक घरायसी प्रयोजनको लागि मात्र वन पैदावारको उपयोग गर्दै आएको तर निकट भविष्यमा यस क्षेत्रमा सडक पुगेकाले सामुदायिक वनले आफ्नो कार्ययोजनामा समावेश गरेर सडेको, मक्केको, ढलेको वा निकासी गर्न मिल्ने काठहरू निकासीगरी समितिको सिफारिसमा परिषद्को स्वीकृत लिएर बेच्न पनि सक्नेछन् ।

लुङथुङ सामुदायिक वनका तत्कालीन अध्यक्ष फुपु शेर्पाकाअनुसार सामदायिक वनको कार्ययोजनाअनुसार मात्रै यसबाट निकासी हुने वनपैदावारको उपयोग गर्न मिल्छ । विगतमा विभिन्न सामुदायिक वनमा घरायसी काठ सङ्कल नगर्दा उजुरी पनि परेको थियो । जसबाट सामुदायिक वनमा सुसाशन कायम गर्न पनि समस्या रहेको छ ।
परिषद्बाट कर्मचारी र प्राविधिकहरू भनेको समयमा उपलब्ध हुँदैन । वनमा प्राविधिक जनशक्तिको आवश्यकता हुन्छ तर परिषद्मा प्राविधिक कर्मचारी छैनन् । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा रहेको २ जना रेञ्जरले सबै सामुदायिक वनमा भौगोलिक विकटताका कारण पुगेर सेवा दिन सक्दैनन् ।
वन छ तर आम्दानी लिन नसकेको फक्ताङलुङ—६ अवस्थित टोबाटे सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष तारादेवी लिम्बूले बताए । लिम्बूका अनुसार यस क्षेत्रका सामुदायिक वनहरूले अहिलेसम्म आम्दानी लिन सकिएको छैन । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले विगतमा सामुदायिक वनहरूमा अक्षय कोष जम्मा गरिदिनु भएको छ । त्यसै कोषको ब्याजबाट आएको पैसाले बैठक, वन हेरालुलाई पारिश्रमिक दिँदै आएको लिम्बूले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया