बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्प प्रभावित जनताको लागि तत्काल १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आम जनताको तत्काल खोज, उद्धार, घाईतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुर्नस्थापनामा सहयोग पुगोस् भन्ने हेतुले उक्त सहयोग गरिएको सिबिफिनले बताएको हो । उत्तः सहयोग सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत सिबिफिनको तर्फबाट उपलब्ध गराउने जनाइएको छ ।
राष्ट्रिय विपत्ती आइलागेको कठिन अवस्थालाई संवेदनशिलरुपमा लिँदै सिबिफिनले राहत सामाग्री जुटाउने र सम्बन्धित क्षेत्रमा पु¥याउने पवित्र मानवीय सेवाको कार्यमा सहयोगी हात अगाडि बढाउन सम्बन्धित प्रदेश÷जिल्ला तथा स्थानीय निकायहरुमा सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुमा समेत आग्रह गरेको छ ।
जाजरकोट र रुकुम पश्चिम जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग सम्पर्क गरी प्रभावित जनताको वस्तुस्थितिको बारेमा जानकारी लिएकोमा तत्काल खाद्यान्य, औषधोपचार, न्याना लत्ताकपडा सहितको बसोबास अत्यावश्यक रहेको जानकारी प्राप्त भएको सिबिफिनले जनाएको छ ।
कार्तिक १७ गते, शुक्रबारको राति ११ः४७ बजेको मध्यरातमा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्प भएको थियो । उक्त भुकम्पाबाट विशेषतः जाजरकोट र रुकुम पश्चिम जिल्लामा अपूरणीय जनधनको क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति सिबिफिनले गहिरो दुःख समेत व्यक्त गरेको छ ।
विपत्ति जानकारी दिएर नआउने तथा व्यक्ति एवं भूगोल विशेष हेरेर आउँदैन भन्ने शास्वत सत्यलाई मनन् गर्दै जनधनको क्षतिसहित कठिन अवस्थामा रहेका भूकम्प पीडितहरुको सहयोगार्थ सदस्य बैंक तथा वित्तीय संस्थाहरुले सहयोग घोषणा गरिरहेको सिबिफिनको भनाई छ ।
जारी विज्ञप्तीमा भनिएको छ, ‘यस संवेदनशील घडिमा बैंक तथा वित्तीय संस्थाहरुबाट स्वतस्फूर्त सहयोग भइरहेकोप्रति सिबिफिन हार्दिक आभार व्यक्त गर्दछ । साथै, यसैगरी खुला हृदयले राहत सहयोग उपलब्ध गराइदिन समेत सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुमा हार्दिक अपिल गर्दछौं ।’
विनाशकारी भूकम्पको चपेटामा परी उपचाररत सम्पूर्ण घाईतेहरुको शीघ्र स्वाथ्यलाभको हार्दिक कामना गर्दै सिबिफिनले दिवंगत आत्माहरुको चिर शान्तिको कामनासहित शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया