व्यापारिक घराना मस्ता ग्रुपले लिएको १ अर्ब २७ करोड बराबरको ऋण समीक्षाका लागि आवश्यक पर्ने वित्तीय जानकारी उपलब्ध गराएको छैन । जसकारण रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले कम्पनीको रेटिङ घटुवा गरेको छ।
सन् २०२२ को सेप्टेम्बर महिनामा इन्फोमेरिक्स नेपालले १८ करोड ५० लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी र १ अर्ब ९ करोड बराबरको अलपकालीन कर्जाका लागि ए४ रेटिङ गरेको थियो । कम्पनीहरुले कर्जाका लागि रेटिङ गरेको ६ महिना अवधिमा एजेन्सीले कर्जाको समीक्षा गर्दै आएको छ ।
यसअघि कम्पनीले कर्जा लिनका लागि गरेको रेटिङ समीक्षा गर्ने क्रममा इन्फोमेरिक्स नेपालले अक्टोबर १७ देखि डिसेम्बर ४ सम्म विभिन्न चरणमा सम्पर्क गरेको थियो । तर कम्पनीबाट कुनै प्रतिक्रिया नआएपछि एजेन्सीले रेटिङ घटुवा गरेको हो ।
कम्पनीले समीक्षाका लागि आवश्यक जानकारी उपलब्ध नगराएपछि एजेन्सीले यस अघि दीर्घकालीन कर्जाका लागि दिएको डबल बी रेटिङ घटुवा गरी डबल बी माइन्स रेटिङ गरेको छ भने कम्पनीलाई ‘इस्सुअर नट कोअपरेटिङ’ को सूचीमा राखी रेटिङ वीथड्रल गर्ने चेतावनी दिएको छ ।
सन् २०२० मा विभिन्न प्रकारका खाद्य पदार्थको आयात गरी बिक्री वितरण गर्ने उद्देश्यले कम्पनी स्थापना भएको थियो । स्थापनाको एक वर्ष पछि सन् २०२१ मा कम्पनीले ५० करोड ६० लाख बराबरको सञ्चालन आम्दानी गरेको थियो । इन्फोमेरिक्स नेपाललाई उपलब्ध गराएको पछिल्लो वित्तीय विवरण अनुसार कम्पनीले सन् २०२२ मा २ अर्ब २ करोड ७० लाख बराबरको सञ्चालन आम्दानी गरेको पाइएको छ ।
तथापि रेटिङ समीक्षाका लागि आवश्यक पर्ने तथ्यांक उपलब्ध नगराएका कारण इन्फोमेरिक्स नेपालले रेटिङ घटुवा गरेको छ । कम्पनीका अध्यक्ष जीवन चलाउने हुन भने जगत बहादुर धामी र श्याम थापा निर्देशक रहेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया