टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल विरुद्ध पौने २४ करोड भ्रष्टाचारको अरोपमा मुद्दा दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पौडेलले सार्वजनिक पदको दुरुपयोग गरी स्रोत नखुलेको २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ ५७ पैसा बराबरको सम्पत्ति आर्जन गरेको अभियोग लगाउँदै अख्तियारले आइतबार मुद्दा दायर गरेको हो । मुद्दामा बिगो बराबरको जरिवाना असुल उपर गर्न तथा कसुर अनुसार जेल सजायको माग दाबी गरिएको छ ।

अख्तियारले उनलाई माघ १० गते पक्राउ गरेको थियो । आम्दानीको तुलनामा उनको आर्जन धेरै बढी देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको हो ।

अख्तियारले पौडेलविरुद्ध २०६१ जेठ २० देखि ०७९ फागुन ३० सम्मको सम्पत्ति छानबिन गरेको उल्लेख गरेको छ । पौडेल बहालमा रहँदा पारिश्रमिक, भत्ता, शेयरलगायत एक करोड १९ लाख २४ हजार ८ सय ४६ स्रोत खुलेको आय देखिएको साथै खर्च भने २४ करोड ९४ लाख ७१ हजार १७१ खर्च तथा लगानी देखिएकाले २३ करोड ७५ लाख ४६ हजार ३ सय २४ रूपैयाँबराबरको खर्च तथा सम्पत्तिको अवैध देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार पौडेलले आफू कार्यकारी प्रमुख भएका निकायहरूमा सामग्री आपूर्ति गर्ने स्वदेशी तथा विदेशी कम्पनीसँग मोलमोलाई गरी कमिसन लिई विदेशी बैंकमा रकम जम्मा गरेको र स्वदेश तथा विदेशमा आफन्तका नाममा लगानी गरेका छन् ।

पौडेलमाथि दूरसञ्चार र प्रविधिजन्य उपकरण खरिद तथा त्यससँग जोडिएको आर्थिक खटनपटनमा अनियमितता गरेर गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको छ ।

पौडेलविरुद्ध अख्तियारले दायर गरेको यो दोस्रो भ्रष्टाचार मुद्दा हो । गत असोजमा दायर पेमेन्ट गेटवेको मुद्दामा उनलाई विशेष अदालतले शुक्रबार दोषी ठहर गरेको छ । विशेष अदालतले कसुर निर्धारणका लागि २५ वैशाखमा पेशी तोकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।