वैद्य ग्रुपको लगानी रहेको एक्जिम नेपालको आम्दानीमा गिरावट

0
Shares

व्यापारिक घराना वैद्य ग्रुपको लगानी रहेको एक्जिम नेपालको आम्दानीमा गिरावट आएको छ । आर्थिक वर्ष २०२२ मा ५० करोड ३० लाख सञ्चालन आम्दानी रहेको कम्पनीको कारोबारमा भएका गिरावटका कारण आव २०२३ मा ११.१३ प्रतिशतले खुम्चिएको हो ।

आर्थिक वर्ष २०२३ मा कम्पनीले ४४ करोड ७० लाख सञ्चालन आम्दानी गरेको छ । कम्पनीको सञ्चालन आम्दानीमा गिरावट आएता पनि ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा भने बढेको छ । गत आवमा कुल सञ्चालन आम्दानीको १९.२१ प्रतिशत रहेको सो नाफा आव २०२३ मा २६.६७ प्रतिशत पुगेको हो ।

सन् १९९३ मा वैद्य ग्रुपद्धारा स्थापना भएको कम्पनीले डक्टाइल आइरन पाइप (डीआई पाइप)को खरिद तथा बिक्री वितरण गर्दै आएको छ । विभिन्न भारतीय तथा चिनियाँ कम्पनीहरुले उत्पादन गरेको डिआई पाइप तथा फिटिङ्सका लागि कम्पनी नेपालको आधिकारिक बिक्रेता समेत रहेको छ । कम्पनीले मूलतः डिआइ पाइप एन्ड फिटिङ्सका साथसाथै अन्य निर्माण सामाग्रीहरुको आयात गरी देशभित्र खरिद बिक्री गर्दै आएको छ ।

चालु आवमा नेपाल सरकारले निर्माण कार्यलाई तिव्रता दिन नसक्दा निर्माण सामाग्री उत्पादन तथा बिक्री वितरण गर्ने कम्पनीहरुको आम्दानी घटिरहेको छ । डिआइ पाइप तथा अन्य निर्माण सामाग्री आयात गरी बिक्री वितरण गर्दै आएको एक्जिम नेपालको पनि निर्माण कार्यले तीव्रता लिन नसक्दा आम्दानी घटेको छ ।
कम्पनीका अध्यक्ष किरण वैद्य रहेका छन् भने निर्देशक करण वैद्य रहेका छन् । हाल कम्पनीका किर्तीपुर, बोडे, हेटौंडा र धापसी गरि चार ठाउँमा गोडाउनहरु छन् ।

कम्पनीले १ अर्ब ५ करोड बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले ९ करोड ९२ लाख बराबरको कर्जाका लागि बी प्लस र ९५ करोड ७ लाख बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ पुस २०८०, सोमबार  १६ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।