स्टक ब्रोकर एसोसिएसन अफ नेपालले कारोबार व्यवस्थापन प्रणाली मर्मत गर्नु पर्दा सेयर बिक्री गर्ने लगानीकर्ताको भुक्तानी ढिला भएको स्पष्ट पारेको छ । एशोसिएसनले माघ ३ र ४ गते भएको अधिक कारोबारका कारण टीएमएसमा समस्या आएपछि भुक्तानी गर्न ढिला भएको जनाएको हो ।
ब्रोकरले सेयर बिक्री वापत ब्रोकर कम्पनीको खातामा प्राप्त भएको रकम बिक्रीकर्ताको बैंक खातामा विद्युतीय प्रणाली मार्फत पाउने गर्दे आएको छन् । विगत केही दिनदेखि लगानीकर्ताहरूले आफ्नो बिक्री गरेको सेयरको रकम समयमा नै प्राप्त गर्न नसकेको गुनासो गरेपछि एसोसिएसनले विज्ञप्ति जारी गर्दै बिक्री वापतको रकम सहज रुपमा विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रयत्न गर्दा समेत केही रकमहरू समयमा नै भुक्तानी हुन नसकेको स्वीकार गरेको छ ।

समय भुक्तानी हुन नसक्नुमा माघ ३ र ४ गते ठुलो परिमाणमा तथा धेरै पटक सेयर कारोबार भएकाले पनि जटिल भएको जनाएको छ । माघ ३ गतेको नियमित राफसाफ माघ ५ गते भए तापनि माघ ४ गते बेलुकाबाट ट्रेड म्यानेजमेन्ट सिस्टम टीएमएस मर्मतको लागि बन्द भएका कारण टीएमएसमा माघ ७ गते मात्र बिल जेनेरेट गरेको हुनाले पनि ढिला भएको एशोसिएसनले जनाएको छ ।
माघ ४ र ५ गते राफसाफ भएका बिलहरूको भुक्तानी माघ ७ गतेदेखि मात्र प्रोसेसिङ्ग गर्न सकेको एसोसिएसन जनाएको छ । माघ २, ३ र ४ गतेको कारोबारको भुक्तानी टीएमएस बाट माघ ७ गतेबाट मात्र भुक्तानी प्रक्रिया शुरु गर्न मिलेका कारण पेमेन्ट गेटवेमा अधिक चाप पर्न गएपछि झनै समस्या बढेको ब्रोकरको भनाइ छ ।
टीएमएस मर्मत भइसकेपछि सो प्रणाली मार्फत विद्युतीय माध्यमबाट भुक्तानी प्रक्रिया गरिएका कतिपय कारोबारहरू केही दिनसम्म पनि प्रोसेसिङ्गमा नै रहेकाले पनि पैसा जम्मा नभएको एसोसिएसनले जनाएको छ । दैनिक रुपमा धेरै कारोबारहरू भुक्तानीको लागि प्रोसिसिङ्ग गर्दा अधिकांश रकमहरू भुक्तानी भए तापनि कतिपय भुक्तानीतर्फ बैंक विवरण ठिक हुँदाहुँदै पनि इनभ्यालिड भई पुनः प्रोसेसिङ्ग गर्नु पर्दा पनि ढिला भएको ब्रोकरहरूको भनाइ छ । ग्राहकको भुक्तानी टीएमएस बाहेक अन्य माध्यमबाट मात्र सम्भव नरहेको जानकारी समेत एसोसिएसनले दिएको छ । टीएमएस प्रणालीको समस्याका कारण यस्तो समस्या नदोहोरियोस् भनेर सरोकारवाला निकायसँग छलफलगरी समाधान गर्ने समेत एशोसिएसनले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया