क्रेडिट स्वीसलाई अधिग्रहण गरेपछि थप ३ अर्ब डलरले खर्च कटौती गर्दै युनियन बैंक अफ स्वीजरल्यान्ड


युनियन बैंक अफ स्वीजरल्यान्ड (युबीएस) ले संकटग्रस्त अवस्थामा पुगी टाट पल्टिएको क्रेडिट स्वीस बैंकलाई अधिग्रहण गरेपछि निरन्तर खर्च कटौती गरिरहेको छ । सोही क्रममा बैंकले थप ३ अर्ब डलर खर्च कटौती गर्ने घोषणा गरेको छ ।

सन् २०२३ मा जब विश्वव्यापी रुपमा बैंकिङ संकट सिर्जना भएको थियो सोही समयमा क्रेडिट स्वीस बैंक पनि टाट पल्टिने अवस्थामा पुगेको थियो ।

एकपछि अर्को बैंक टाट पल्टिँदै, क्रेडिट स्वीस बैंकको अवस्था समेत गम्भीर

बैंक-रनका कारण टाट पल्टियो १६७ वर्ष पुरानो क्रेडिट स्वीस बैंक

युबीएसले अधिग्रहण गर्नु अघि क्रेडिट स्वीस विश्वका ठूला ३० बैंकहरुको सूचीमा थियो । यी ३० बैंकहरु टाट पल्टिँदा त्यसको प्रभाव सिमित क्षेत्रमा मात्र नभई अन्य देशमा समेत पर्ने अनुमान गरिएको थियो । जसका कारण युबिएसले क्रेडिट स्वीस बैंकलाई अधिग्रहण गरेको थियो ।

सन् २०२३ को मार्च १९ मा युबीएसले स्वीस सरकारको सहयोगमा ३ अर्ब स्वीस फ्रान्क (३ अर्ब २५ करोड अमेरिकी डलर) मा क्रेडिट स्वीस अधिग्रहण गरेको थियो ।

१६७ वर्षपछि मेटियो क्रेडिट स्वीस बैंकको अस्तित्व, युबीएसले किन्ने

प्रतिस्पर्धी बैंकलाई अधिग्रहण गरेपछि युबीएसले निरन्तर खर्च कटौती गरिरहेको छ । यसअघि बैंकले कर्मचारी कटौती गरि ४ अर्ब डलर खर्च कटौती गरेको थियो । बैंकले आर्थिक वर्ष २०२३/२४ को अन्तिम त्रैमाससम्ममा १६ हजार बढी कर्मचारी कटौती गरिसकेको छ ।

क्रेडिट स्वीसलाई अधिग्रहण गरेपछि युबीएसको घाटा बढेको छ । आर्थिक वर्ष २०२३ को जुन–सेप्टेम्बरसम्मको त्रैमासमा बैंकलाई ७८ करोड ५० लाख अमेरिकी डलर घाटा भएको छ भने अक्टोबर–डिसेम्बरसम्मको अवधिमा बैंकलाई २७ करोड ९० लाख डलर घाटा भएको युबिएसको त्रैमासिक प्रगति विवरणमा उल्लेख छ ।

बैंक अधिग्रहण गरेको केही अवधिसम्म घाटा भएता पनि क्रमिक रुपमा बैंकको वासलातमा सुधार हुँदै जाने युबीएसका वित्त प्रमुख टोड टक्नरले सीएनएनलाई बताएका छन् । यसै सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृत सर्जियो एर्मोट्टीले आफू बैंकको प्रगति विवरणदेखि खुशी भएको र बैंकको अवस्थालाई क्रमिक रुपमा सुधार गर्ने जिकिर गरेका छन् ।

सर्जियोले आफूहरु छोटो दूरीको दौड नभई म्याराथुनमा प्रतिस्पर्धा गरिरहेको बताउँदै सुरुवातको गति राम्रो भएको बताएका छन् । बैंकले सन् २०२६ को अन्त्यसम्ममा १३ अर्ब अमेरिकी डलर बचतमा राख्ने घोषणा गरेको छ । बैंकसँग पर्याप्त बचत भएमा लगानीको वातावरण सिर्जना हुने र त्यसकै कारण बैंकको वृद्धिदर दीगो हुने उनको धारणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।