अनुदानमा कृषकलाई मौरी सहितको घार


कृषि विकास कार्यालय रुकुमपश्चिमले किसानलाई गोलासहितको मौरी घार वितरण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटबाट ७० जना कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको हो । 
 
जिल्लाका त्रिवेणी, सानीभेरी गाउँपालिका तथा मुसीकोट नगरपालिकाका ७० जना कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको कृषि विकास कार्यालय रुकुमपश्चिमका प्राविधिक सहायक महेश चन्दले जानकारी दिएका छन् । उनका अनुसार प्रत्येक कृषकलाई एक/एक वटाका दरले गोलासहितको मौरी घार वितरण गरिएको हो । 
 
साथै टोपी, कुइँगेट र पञ्जा ७०/७० वटा वितरण गरिएको छ । कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा कृषकलाई मौरी घारसहित अन्य सामग्री वितरण गरिएको प्राविधिक सहायक चन्दले जानकारी दिए । उनका अनुसार गोलासहितको घारलाई नौ हजार रुपैयाँ परेकामा चार हजार पाँच सय अर्थात् ५० प्रतिशत कृषकको लगानी रहेको छ । 
 
आठबिसकोट नगरपालिका–११ डाँडागाउँबाट गोलासहितको मौरी घार ल्याएर कृषकलाई वितरण गर्न लागिएको हो । बाँकी छुटेका ४० जना कृषकलाई केही दिनमा सल्यानबाट मौरी घार ल्याएर वितरण गरिने प्राविधिक सहायक चन्दले बताए । अनुदानमा कृषकलाई मौरी घार वितरण गर्न कृषि विकास कार्यालयले पाँच लाख बजेट विजियोजन गरेको जनाएको छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार  १४ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।