महानगरले दियो स्व. सुदिप विकको परिवारलाई दुई लाख रुपैयाँ


नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा खसेर ज्यान गुमाएका भरतपुर महानगरवासी सुदिप विकको परिवारलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा बिहिबार भरतपुर–२२ स्थित स्व सुदिपको घर पुगेर सो रकम हस्तान्तरण गरिएको हो । भरतपुर महानगरपालिकाको हिजो बसेको कार्यपालिका बैंठकले पहिरोमा परेर ज्यान गुमाएका पीडितका परिवारलाई किरिया खर्च स्वरुप २ लाख सहायता गर्ने निर्णय गरेको थियो ।

सो अवसरमा मृतकका परिवारलाई महानगर प्रमुख दाहालले समवेदना प्रकट गरिन् । महानगर प्रमुख दाहालले भरतपुर २९ मा भएको प्रकृति विपत्तिले दुई बसका साथै ६० बढीको ज्यान गएको घटनाले मर्माहात भएको बताइन् ।

अहिलेसम्म १८ जनाको शव भेटिएपनि अन्यको अवस्था अज्ञात रहेको र खोजी कार्यमा सुरक्षाकर्मी निरन्तर लागेको प्रमुख दाहालले बताए । हामी अहिले दुःखको क्षणमा छौ,उनले भनिन्,‘सन्तान गुमाउनुको पीडा हामीले बुझेका छौ । सिंगो महानगरपालिका यहाँको साथमा छ । शोकलाई शक्तिमा बदल्ने सर्माथ्य मिलोस् भन्ने कामना गर्दछौ।’

प्रमुख दाहालले दुःखमा रहेको परिवारलाई केही भएपनि राहात मिलोस् भनि कार्यपालिका बैंठकमार्फत रु २ लाख दिने निर्णय गरेको स्पष्ट पारिन् । उनले संघीय तथा प्रदेश सरकारले यस घटनामा ज्यान गुमाएका पीडित परिवारलाई राहात प्रदान गर्नेमा आशावादी रहेको बताइन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।