नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार देखिएको छ । बुधबार नेप्से परिसूचक ५.१० अङ्कले बढेर २५८१.६० को बिन्दुमा पुग्दा कारोबार रकम भने साढे तीन अर्ब हाराहारीमा खुम्चिएको हो ।
बुधबार ३०९ कम्पनीको ९४ लाख ३४ हजार नौ कित्ता सेयर ४३ हजार सात सय २९ पटक खरिदबिक्री हुँदा ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार तीन सय ३४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम गत असोज अन्तिम सातायताकै न्यून हो ।
मङ्गलबारको कारोबारमा उच्च गिरावट देखिएको वित्त समूह आज सम्हालिएर उच्च वृद्धि देखिएको छ । वित्त समूह ३.८७, विकास बैंक १.६८ र जलविद्युत् समूह १.२४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन ०. ९५, लगानी ०.०९, उत्पादन तथा प्रशोधन ०.२५, निर्जीवन बिमा ०.२२ र व्यापार समूह ०. ६३ प्रतिशतले बढको छ ।
अरु समूहको उपसूचकमा भने गिरावट देखिएको छ । बैंकिङ शून्य दशमलव ७२, जीवन बिमा शून्य दशमलव शून्य छ, लघुवित्त शून्य दशमलव १६, म्युचुअल फन्ड शून्य दशमलव १७ र अन्य समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको हो ।
त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २१ करोड ८२ लाख १७ हजार तीन सय ४९ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सन्राइज ब्लुचिप फण्डको १७ लाख ३४ हजार पाँच सय ८९ कित्ता सेयर किनबेच भएको छ ।










प्रतिक्रिया