सेयर बजार परिसुचक साढे २ अंकले बढ्दा १२ अर्बको कारोबार 


नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा सुधार आउने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । आइतबार करिब ७० अंकले बढेको नेप्से परिसुचक सोमबार भने २.४१ अंकले मात्र बढेको हो । 

सोमबारको वृद्धि पछि नेप्से परिसूचक २७३० को विन्दुमा पुगेको छ । सोमबार ३ सय १७ कम्पनीको दुई करोड ३७ लाख ७० हजार ३४८ कित्ता सेयर एक लाख ११ हजार ९१८ पटक खरिदबिक्री हुँदा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबारको कारोबारमा बैङ्किङ ०.५४, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.२७, लघुवित्त ०.१०, म्युचुअल फन्ड ०.७८, निर्जीवन बीमा ०.८२ र व्यापार समूह ०.७९ प्रतिशतले बढेका छन् । अरू सबै समूहको उपसूचक घटेको छ । विकास बैङ्क ०.३९, वित्त १.०७, होटल तथा पर्यटन ०.०१, जलविद्युत् ०.४८ र लगानी समूह ०.४७ प्रतिशतले घटेको हो ।

नेप्सेमा सोमबार कारोबार भएका उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र भूगोल इनर्जी कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक ‘सर्किट’ लागेको छ । त्यस्तै, ग्रिन डेभलपमेन्ट बैङ्क र रिभर फल्स पावर लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३५ करोड ३० लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको ६ लाख ३४ हजार ६२० कित्ता सेयर किनबेच भएको छ ।

 

प्रकाशित मिति: २१ माघ २०८१, सोमबार  १६ : ५३ बजे