लाभांशको ‘सिजन’ सकिएपछि निरन्तर ओरालो लाग्दै सेयर बजार


नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश वितरण गर्ने क्रम सकिएसँगै सेयर बजार दिनानुदिन ओरालो लाग्न थालेको छ । गत आर्थिक वर्षको आम्दानीबाट एकाध बाहेक धेरै कम्पनीहरुले लाभांश घोषणा तथा वितरण गरिसकेका छन् । जसको असर दोस्रो बजारमा देखिएको हो । बजार घटेसँगै कारोबार रकम पनि संकुचित बन्दै गएको छ ।

पछिल्ला ५ कारोबार दिनमा सेयर बजार ५२ अंकभन्दा बढीले घटेको छ । सोमबार मात्रै बजार परिसुचक नेप्से १०.९८ अंकले घटेर २६७७.३२ अंकमा ओर्लिएको छ । बजार खुलेको केही समयसम्म उकालो लागेको बजार अन्तिम समयमा घटेर बन्द भएको हो । यस दिन कुल ३२२ कम्पनीका १ करोड ४४ लाख ४३ हजार ७६५ कित्ता सेयरहरु ७४ हजार ८६४ पटक किनबेच हुँदा ६ अर्ब ९६ करोड २ लाख ९२ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

बजार दिनहुँ घट्दै गर्दा आइतबारको तुलनामा कारोबार रकम झण्डै डेढ अर्ब रुपैयाँले घटेको हो । आइतबार ८ अर्ब ३३ करोड ६१ लाख २९ हजार रुपैयाँको सेयर किनबेच भएको थियो ।

नेपाल स्टक एक्स्चेञ्जका अनुसार सोमबार १६१ कम्पनीको सेयर मूल्य घट्दा, ६ कम्पनीको स्थिर छ भने ७७ कम्पीको सेयर मूल्य बढेको छ । न्यादी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा ऋणपत्रहरुको मूल्य बढेको छ ।

बोटलर्स नेपाल र उपकार लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको बजारमा सुपर मादी हाइड्र, सामुदायिक लघुवित्त, अपर लोहोरे खोला हाइड्रो लगायतका कम्पनीको सेयर मूल्य धेरै घटेको छ ।

नेपाल रिपब्लिक मिडियाको सेयर अधिक कारोबार भएको बजारको समग्र पूँजीकरण भारी मात्रामा घटेको छ । सोमबारको गिरावटसँगै समग्र बजार पुँजीकरण पनि घटेर ४४ खर्ब ४४ अर्ब ५६ करोड १७ लाख ४० हजार रुपैयाँ कायम भएको छ ।

सोमबार क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि १.०६ अंकले घटेर ४५०.६५ अंकमा ओर्लिएको बजारमा कारोबारयोग्य सेयरको मापन गर्ने फ्लोट इण्डेक्स ०.७२ अंकले घटेर १८१.११ अंकमा अडिएको छ । क वर्गका कम्पनीहरुको कारोबारयोग्य सेयरको मापन गर्ने सेन्सेटिभ फ्लोट पनि ०.४१ अंकले घटेर १५१.१३ अंकमा बसेको छ ।

धमाधम नयाँ कम्पनीहरुको प्राथमिक निष्काशन स्वीकृत हुने क्रम बढेकाले पनि दोस्रो बजार प्रभावित भएको हो । साधारण सेयरमा आवेदन परेको अर्बौँ रुपैयाँ होल्ड हुनु, ती कम्पनी सूचीकरणमा आउँदा नयाँ पुँजी थप हुनु लगायत कारणले बजार प्रभावित बनेको हो । नयाँ कम्पनीका सेयर सूचीकरण हुनु र दोस्रो बजारमा सूचीकरण भएपछि ती कम्पनीको सेयर मूल्य अन्य कम्पनीको हाराहारीमा पुग्दा बजार पुँजीकरणको आकार भने बढेकोछ । यद्यपि बजार सुचकांकका आधारमा भने यो पुँजीकरण न्युन हो । अर्थात अब्बल मानिएका धेरै कम्पनीको सेयर अवमूल्यन हुँदा त्यसको असर समग्र बजार पुँजीकरणमा परेको हो ।

 

प्रकाशित मिति: २८ माघ २०८१, सोमबार  १५ : ४८ बजे