पुर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात


काँकरभिट्टाबाट चालु आर्थिक वर्षको ६ महिनामा रु १४ अर्ब ५६ करोड ६३ लाख बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् ।
पछिल्लो ६ महिनामा सबैभन्दा धेरै चिया ६ अर्ब ८२ करोड, अलैँची ४ अर्ब २२ करोड ६० लाख, प्लाइ तथा भेनियर १ अर्ब ९१ करोड १३ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको उनले बताए ।

यस्तै, अदुवा २६ करोड १३ लाख, अम्लिसो ४९ करोड ७४ लाख, बन्दा ८ करोड १७ लाख, जडीबुटी २ करोड ६३ लाख ,मसुरो दाल १ करोड ५५ लाख मूल्यको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरले सोही अवधिमा पूर्वी नाकाबाट १ अर्ब ९६ करोड ६७ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको जानकारी दिए ।

आयात हुने मुख्य वस्तुमा कोदो, गेँडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो १० करोड ९५ लाख ६८ हजार, चामल ३ करोड ३ लाख, ताजा तरकारी १८ करोड २३ लाख मूल्य बराबरको आयात भएको छ ।

यसैगरी ताजा फलफूल २० करोड १८ लाख, लसुन ६१ करोड ७५ लाख, आलु २१ करोड ७४ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २८ माघ २०८१, सोमबार  १८ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।