नेप्से परिसूचकसंगै कारोबार रकममा पनि सुधार


नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक घट्ने क्रम रोकिएको छ । गत साताको मंगलबार देखि घट्न थालेको नेप्से यो साताको मंगलबार मात्रै बढेको हो ।

गत साता देखि नेप्सेमा कारोबार हुने पछिल्ला पाँच कारोबार दिन निरन्तर घटेको नेप्से मंगलबार भने साढे ६ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ६.५४ अङ्कले बढेर २६८३.८६ को विन्दुमा पुगेको छ ।

मंगलबार नेप्सेसंगै कराोबार रकममा पनि सुधार आएको छ । नेप्सेमा २९९ कम्पनीका एक करोड ३९ लाख ६८ हजार दुई सय ५८ कित्ता सेयर ७२ हजार ९४ पटक खरिदबिक्री हुँदा सात अर्ब २४ करोड ६२ लाख २१ हजार २६० रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबाररकम सोमबारको तुलनामा धेरै हो । सोमबार नेप्सेमा ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

मंगलबार नेप्सेमा कारोबार भएका समुहगत परिसूचक मध्ये विकास बैङ्क समूह २.३७, जलविद्युत् १.५७, लगानी ०.४८, उत्पादन तथा प्रशोधन ०.०१ र म्युचुअल फन्ड ०.५२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेका छन । बैङ्किङ ०.२०, वित्त ०.२९, होटल तथा पर्यटन ०.४७, जीवन बीमा ०.०८, लघुवित्त ०.०४, निर्जीवन बीमा ०.४३, व्यापार १.०५ र अन्य समूह ०.०१ प्रतिशतले घटेको छ ।

मंगलबार सिक्लेस हाइड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी होल्डिङ्स लिमिटेडको ३६ करोड ८१ लाख ८२ हजार ८९८ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने एनआइसी एसिया ग्रोथ फन्डको सबैभन्दा धेरै ७ लाख १२ हजार १०० कित्ता सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: २९ माघ २०८१, मंगलबार  १६ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।