नेप्से परिसूचकमा १९ अङ्कले बढ्दा साढे ९ अर्बको कारोबार 


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आइतबार दोहोरो अङ्कको सुधार आएको छ । गत साता मिश्रित देखिएको सेयर बजार यो साताको सुरुवाती सँगै सुधारको गतिमा देखिएको हो । 

आइतबारको कारोबार पछि नेप्से परिसूचक १९.५६ अङ्कले बढेर २६९८.०३ को विन्दुमा पुगेको छ । आइतबार नेप्सेमा तीन सय नौ कम्पनीको २ करोड ९ लाख ८४ हजार ४ सय ४० कित्ता सेयर ९६ हजार २ सय ८२ पटक खरिदबिक्री हुँदा ९ अर्ब ४७ करोड तीन लाख आठ हजार दुई सय ६६ रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम नेप्सेमा कारोबार हुने गत साताको अन्तिम दिन बिहीबारको तुलनामा धरै हो । गत साताको बिहीबार नेप्सेमा ७ अर्ब ७४ करोड रुपैयाँ बराबरको मात्र सेयर किनबेच भएको थियो । 

आइतबारको कारोबारमा म्युचुअल फन्ड ०.११ र निर्जीवन बिमा १.२८ प्रतिशतले घटेको छ भने अरु सबै समूहगत सूचक बढेको छ । वित्त समूह सबैभन्दा धेरै ४.९४ प्रतिशतले बढेको छ । बैंकिङ ०.९८, विकास बैंक ०.०८, होटल तथा पर्यटन १.९५ र जलविद्युत् ०.३६ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी १.१७, जीवन बीमा ०.३९, उत्पादन तथा प्रशोधन ०.२०, लघुवित्त १.८६, व्यापार ०.२५ र अन्य समूह ०.३८ प्रतिशतले बढेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड, नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाईड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३३ करोड ५४ लाख ७५ हजार एक सय २९ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै एनआईबिएल स्टेबल फन्डको सात लाख ११ हजार तीन यस ८४ कित्ता सेयर किनबेच भएको छ ।

 

प्रकाशित मिति: ४ फाल्गुन २०८१, आइतबार  १५ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।