नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सुधार आउन क्रमले सोमबार पनि निरन्तरता पाएको छ । आइतबार १९ अंकले बढेको नेप्से साताको देस्रो दिन सोमबार करिब ३० अंकले बढेको हो ।
सोमबार नेप्से परिसूचक २९.८७ अङ्कले बढेर २७२७.९१ को बिन्दुमा पुगेको छ । यो वृद्धि एक दशमलव १० प्रतिशतको वृद्धि हो । सोमबार नेप्से सुचक सँगै कारोबार रकममा पनि सुधार आएको छ ।
सोमबार ३ सय दुई कम्पनीको एक करोड ८० लाख ८१ हजार एक सय ६८ कित्ता सेयर एक लाख दुई हजार आठ सय ६१ पटक खरिदबिक्री हुँदा १० अर्ब चार करोड ९६ लाख ५४ हजार आठ सय ३२ रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम आइतबारको तुलनामा धेरै हो । आइतबार नेप्सेमा ९ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयरकिनबेच भएको थियो ।
सोमबारको कारोबारमा बैंकिङ २.१६, होटल तथा पर्यटन २.२९, लघुवित्त २.४५ र अन्य समूह २.४७ प्रतिशतले बढेका छन । त्यस्तै विकास बैंक ०.३३, लगानी ०.२०, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन ०.७७, म्युचुअल फन्ड ०.५२ र निर्जीवन बिमा समूह १.०७ प्रतिशतले बढेका छन । तीन वटा समूहको उपसूचक भने घटेको छ । वित्त समूह ०.८४, जलविद्युत् ०.१५ र व्यापार समूह १.२७ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
सोमबार नेप्सेमा कारोबार भएका मध्ये ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, कुथेली बुखारी स्मल हाईड्रोपावर लिमिटेड, स्कल डेभलपमेन्ट बैंक लिमिटेड, गार्डियन माईक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र दिव्येश्वरी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको ३२ करोड ७४ लाख ३५ हजार तीन सय ५५ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने कुमारी बैंकको सबैभन्दा धेरै ४ करोड १६ लाख तीन सय ४९ कित्ता सेयर किनबेच भएको छ ।










प्रतिक्रिया