सेयर बजार सूचकमा ‘करेक्सन’, कारोबार रकम भने १४ अर्ब माथि


नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा सुधार आउने क्रम सोमबार रोकिएको  छ । अघिल्लो साता देखि निरन्तर सुधारको गतिमा देखिएको नेप्से परिसूचक सोमबार घटेको हो । 

निरन्तर बढीराख्दा भन्दा पनि बिच बिचमा घट्दै बढेको बजारको सुधार दिगो हुने गरेको देखिन्छ । पछिल्लो समयमा सेयर बजारमा देखिएको सुधार पनि सोमबारको घटाइ पछि अझै बढ्ने संकेत हो । 

यो साताको आइतबार ७५ अंक भन्दा धेरैले बढेको नेप्से सोमबार भने १३.६२ अकले घटेको हो । सोमबार करेक्सन पछि नेप्से सुचक २८७६.६६ अंकमा झरेको छ । सोमबार नेप्से सूचक घटेको भएपनि कारोबार रकम भने खासै गिरावट आएको छैन ।  

सोमबार नेप्सेमा कारोबार भएका तीन सय कम्पनीको ३ करोड १२ लाख ४१ हजार दुई सय ५८ कित्ता सेयर एक लाख ३९ हजार ५ सय ५५ पटक खरिदबिक्री हुँदा र १४ अर्ब २८ करोड ४५ लाख १० हजार पाँच सय ९५ बराबरको कारोबार भएको छ । यो कारोबार रकम आइतबारको तुलनामा समान्य थोरै हो । आइतबार नेप्सेमा १४ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

सोमबारको कारोबारपछि जीवन बीमा ०.७७, उत्पादन तथा प्रशोधन ०.२५, म्युचुअल फन्ड १, निर्जीवन बीमा ०.४६ र अन्य समूह १.६८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेका छन् । बैंकिङ १.३५, विकास बैंक ०.८४, वित्त ०.९३, होटल तथा पर्यटन १.८८, जलविद्युत् १.२१, लगानी समूह ०.२४, लघुवित्त ०.८८ र व्यापार ०.८४ प्रतिशतले घटेको छ ।

सोमबार गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको एक अर्ब ३८ करोड ७४ लाख ४७ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर सेयर १७ लाख ७१ हजार पाँच सय ५० कित्ता सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार  १६ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।