राष्ट्र बैंकले मागेजति निक्षेप दिएनन् बैंकहरुले, ब्याजदर पनि सामान्य घट्यो 


 नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको ५० अर्ब तरलता खिच्न खोजको भएपनि बैंक तथा वित्तीय संस्थाले दिएनन् । बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा मार्फत तरलता केन्द्रीय बैंकमा राखेपछि गरे जति पनि आवेदन नपरेको हो । 

बुधबार केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापन तथा अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमा भन्दा थोरै हुन नदिन ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन माग गरेको थियो । त्यसका लागि बैंक तथा वित्तीय संस्थाले ४४ अर्ब ८० करोड मात्र दिएका हुन । बैंक तथा वित्तीय संस्थाले बुधबार केन्द्रीय बैंकलाई दिएको निक्षेपको ब्याजदर पनि समान्य घटेको छ ।  

माग गरेजति आवेदन नआउनु र ब्याजदर घट्नुले बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकलाई निक्षेप संकलन मार्फत पैसा दिन नचाहेको स्पष्ट हुन्छ । बैंक तथा वित्तीय संस्थाले मंगलबार मात्रै स्थायी नषिेप मार्फत ८९ अर्ब ५५ करोड रुपैयाँ केन्द्रीय बैंकमा राखेका छन् । त्यसले गर्दा पनि बैंक तथा वित्तीय संस्थाले बुधबारको निक्षेप संकलनमा लगानी गर्न नचाहेको देखिन्छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएको अवस्थामा स्थायी निक्षेप मार्फत केन्द्रीय बैंकमा पैसा राख्दा ३ प्रतिशत ब्याजदर पाइन्छ । तर, निक्षेप संकलन मार्फत तरलता पठाउँदा अवधिमा पनि धेरै र ब्याजदरका लागि पनि बोलकबोल गर्न पर्ने भएकाले स्थायी निक्षेप तर्फ बैंकहरुले लगानी बढाएका हुन ।

बुधबारको ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनका २१ दिन अवधिको हो । त्यसका लागि ७ बैंक तथा वित्तीय संस्थाले १२ आवेदन मार्फत ४४ करोड ८० लाख माग गरेका थिए । केन्द्रीय बैंकले पनि उनीहरुले अफर गरे अनुसारको निक्षेप लिएको छ । बुधबारको निक्षेप संकलनका लागि बैंक तथा वित्तीय संस्थाले अधिकतम ३ र न्यूनतम २.९८२५ प्रतिशत माग गरेका थिए । बुधबारको निक्षेप संकलनको औसत ब्याजदर २.९९८० प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ । यसभन्दा अघि गत आइतबार जारी भएको निक्षेप संकलनको औसत ब्याजदर ३ प्रतिशत थियो । 

बुधबारको निक्षेप संकलन पछि वित्तीय प्रणालीको २ खर्ब १८ अर्ब ६० करोड रुपैयाँ केन्द्रीय बैंकसंग छ । यसमध्ये १२९ अर्ब ५ करोड रुपैयाँ बराबरको निक्षेप संकलन र ८९ अर्ब ५५ करोड रुपैयाँ स्थायी निक्षेप मार्फत केन्द्रीय बैंकमा पुगेको हो । 

प्रकाशित मिति: २१ फाल्गुन २०८१, बुधबार  १८ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।