कवाड कारखानामा आगलागी


काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० बोसीगाँउस्थित आरएमबी प्लाष्टिक प्याकेजिङ हाउस (कवाड कारखानामा) मा आज आगलागी भएको छ । पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रुपमा सञ्चालन गरेको सो कारखानामा आगलागी भएको हो ।
आगलागी नियन्त्रणमा प्रहरी वृत्त बालाजु, प्रहरी वृत्त थानकोट, प्रभागबाट ३२ जनाको टोली खटिएको छ । आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी  परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
आगो निभाउन सशस्त्र प्रहरी बल तथा स्थानीय समेत खटिएका थिए । कवाड कारखाना जलेर नष्ट भएको तथा क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए । आगो निभाउन सातवटा दमकल तथा १५ पानी ट्याङकर प्रयोग गरिएका थिए ।
आगो निभाउन चन्द्रागिरि नगरपालिका, विशाल बजार बारूण यन्त्रको दमकल, बालाजुको बारुण यन्त्र, ललितपुर महानगरपालिकाको दमकल, भक्तपुर नगरपालिकाको दमकल, बौद्ध रामहिटीको दमकल र बूढानीलकण्ठ नगरपालिकाको दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार  ०९ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।