कृष्ण पन्थी
प्रथम उपाध्यक्ष (श्रमिक विभाग संयोजक)
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतार
मेरा आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू! आज म एउटा गम्भीर विषय उठाउन गर्न चाहन्छु—हाम्रा मूल्यहरूमा आएको परिवर्तन, अभिभावक प्रति हाम्रो सम्मानको गिरावट र भविष्यको पुस्ताले कसरी आफ्नो पहिचान गुमाउँदैछ भन्नेमा केन्द्रीय रहेर यो लेख तयारपार्दै छु ।
हामी ६० देखि ९० वर्ष उमेर समूहका हाम्रा अभिभावकहरूलाई हे¥यौं भने उनीहरू संसारकै सबैभन्दा भाग्यशाली पुस्ता हुन् । किनभने उनीहरू त्यस्तो समयमा हुर्किए जब जीवन सरल थियो, मानवीय सम्बन्धहरू गहिरा थिए र डिजिटल विकर्षणहरू थिएनन् । त्यो समय, जब उनीहरू कलेजमा थिए, मोबाइल फोन र सामाजिक सञ्जालको अस्तित्व नै थिएन । उनीहरू त्यस्तो संसारमा हुर्किएका थिए जहाँ परिवार र समाजबीच प्रत्यक्ष संवाद हुन्थ्यो, आत्मीयता थियो र सम्बन्धहरूको मूल्य थियो ।
तर प्रविधिको विकाससँगै उनीहरूले आफूलाई समयानुकूल बनाउँदै लगे । आज उनीहरूले मोबाइल चलाउँछन्, भिडियो कल गर्छन्, अनलाइन गेम खेल्छन्, र डिजिटल दुनियाँमा आफूलाई ढाल्न सफल भएका छन् । उनीहरूले प्रविधि–पूर्व र प्रविधि–पछिको जीवन दुवै देख्न भोग्न पाए । तर के हाम्रो पुस्ताले पनि यस्तै सौभाग्य पाउनेछ ? म त्यसमा विश्वस्त छैन ।
नेपाल छोड्ने प्रवृत्ति र यसको असर
मैले भर्खरै नेपाल भ्रमण गर्दा एउटा गम्भीर परिवर्तन देखेँ । मेरा धेरै साथीहरू, जसले कुनै समय राम्रो व्यवसाय सञ्चालन गरेका थिए, अहिले संघर्षरत छन् । यसको प्रमुख कारण—नेपालबाट जनसंख्या विस्थापन।
हाम्रो पुस्ता कतारजस्ता देशहरूमा काम गर्न आएका थियौं । तर कहिल्यै स्थायी बसोबासको सुविधा पाउन सकेनौं । अहिलेको पुस्ता युरोप, अमेरिका, क्यानडा, र अस्ट्रेलिया गएर केवल काम गर्न मात्र होइन, स्थायी रूपमा बसोबास गर्न थालेका छन्।
उनीहरूका लागि नेपाल अब केवल बिदा मनाउने ठाउँ बन्दै गएको छ । केही वर्षमा एकपटक मात्र अभिभावकलाई भेट्न आउँछन्, आफ्नो सम्पत्ति बेचेर विदेशमा घर किन्छन्, र उतै आफ्नो भविष्य बनाउँछन् ।
तर यसको अर्थ के हो ? यसको अर्थ, जब हामी सेवा निवृत्त भएर नेपाल फर्कन्छौं, हामी एक्लो हुनेछौं ।
भावी पुस्तासँगको सम्बन्धको टुटफुट
कल्पना गरौं, यदि म १५ वर्षपछि कतारबाट अवकाश लिएर नेपाल फर्कें भने त्यो बेला मेरा धेरै प्रिय बाबु–आमा सायद यस संसारमा नहुन सक्छन् । मेरा छोराछोरी, जसले विदेशमा आफ्नो भविष्य बनाइसकेका हुनेछन्, वर्षमा एकपटक मात्र नेपाल आउनेछन् । मेरा नातिनातिनाहरू नेपाल आए पनि, उनीहरूले कहिल्यै मेरो बाल्यकालमा रहेको परिवारको आत्मीय सम्बन्ध महसुस गर्न सक्ने छैनन् । त्यो न्यानोपन, आत्मीयता, र गहिरो सम्बन्ध धीरे–धीरे हराउँदै जानेछ ।
हामीले जस्तो हाम्रा अभिभावकलाई माया र सम्मान ग¥यौं, के हाम्रा सन्तानहरूले पनि त्यही माया र सम्मान हामीलाई गर्नेछन् ? यसको कुनै ग्यारेन्टी छैन । किनभने संसार तीव्र गतिमा परिवर्तन भइरहेको छ । तीमध्ये धेरै परिवर्तन नकारात्मक छन् ।
पश्चिमीकरणको प्रभाव र हाम्रो संस्कृतिको क्षय
हामी पश्चिमी जीवनशैली र संस्कृतिलाई यति छिटो अपनाइरहेका छौं कि आफ्नै परम्परा बिर्सिंदैछौं ।
– हाम्रा छोराछोरी पश्चिमी चलचित्रहरू हेर्छन्।
– उनीहरूको बोल्ने शैली परिवर्तन भइसकेको छ।
– उनीहरूले पश्चिमी समाजको जीवनशैली अनुसरण गरिरहेका छन्।
यो केवल फेसन वा मनोरञ्जनको कुरा होइन; यसले उनीहरूको सोच, हाम्रो प्रति उनीहरूको व्यवहार र परिवारलाई दिने मूल्यमा समेत गहिरो असर पारिरहेको छ । यदि हामीले उनीहरूलाई हाम्रो संस्कृति, परम्परा र जेष्ठ नागरिकप्रति सम्मान गर्न सिकाएनौं भने यी मूल्यहरू चाँडै हराउनेछन् ।
नेपालमा अबको दुई पुस्तापछि, “नेपाली हो की होइन?” भनेर चिन्न डीएनए परीक्षण गर्नुपर्ने दिन आउन सक्छ !
नेपाल—अब वृद्धाश्रमहरूको देश बन्ने हो?
नेपालबाट युवा जनशक्ति बाहिरिँदै गएपछि, ६०–९० वर्षका वृद्धहरू नेपालमा मात्र रहनेछन् । हाम्रा छोराछोरी विदेशमै सेटल भइसकेपछि, हाम्रो हेरचाह गर्ने कोही हुनेछैन। त्यसपछि के हुन्छ? हामीलाई केयरगिभर नर्स, ड्राइभर, अनि अन्य सेवाका लागि विदेशीहरूलाई नेपालमा ल्याउनुपर्ने अवस्था आउन सक्छ । हाम्रो देश “ओल्ड एज होम कन्ट्री” (वृद्धाश्रमहरूको देश) बन्ने खतरा छ ।
त्यसैले, अबको आवश्यकता के हो?
हाम्रो देशलाई सुसंस्कृत बनाउने, परम्परा बचाउने, र भविष्यका लागि सही बाटो कोर्ने डायनामिक लिडरहरू हामी स्वयं बन्नुपर्छ ! संतुलन आवश्यक छ—न आधुनिकता अस्वीकार, न आफ्नो पहिचान विस्मरण ।
संसारसँगै अगाडि बढ्नु अनिवार्य छ । हामीले प्रविधि, विज्ञान, र आधुनिकतालाई आत्मसात् गर्नुपर्छ । तर, त्यस क्रममा आफ्नो पहिचान गुमाउनु हुँदैन ।
हाम्रो जिम्मेवारी के हो?
– हाम्रो सन्तानलाई सफल करियर मात्र होइन, संस्कार, परिवारको मूल्य, र परम्पराको महत्वबारे शिक्षित गराउने ।
– उनीहरूलाई नेपाली पहिचानका जरा बलियो बनाइदिने ।
सफल जीवन भनेको केवल पैसा कमाउनु वा विदेशमा बस्नु मात्र होइन । सफल जीवन भनेको आफ्नो पहिचान जोगाउँदै प्रगतिको यात्रामा अघि बढ्नु हो । हाम्रो भविष्य हाम्रो संस्कार र पहिचान बचाउनमा निर्भर छ।
अब हामीले निर्णय गर्नुपर्नेछ
हामी केवल पश्चिमी संस्कृति पछ्याएर आफ्नो पहिचान मेटाउने कि हाम्रो परम्परा, मूल्य, र आत्मीयता जोगाएर अघि बढ्ने?
नेपालको उज्ज्वल भविष्य हाम्रो सोच, संस्कार र नेतृत्व क्षमतामा निर्भर छ । समयमै चेतनशील बनौं, पहिचान जोगाऔं र आफ्नो देशको भविष्य सुरक्षित गरौं!
धन्यवाद!










प्रतिक्रिया