अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु


सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छुट मुआब्जा वितरण पुनः सुरु गरिएको छ ।

आवश्यक रकम अभावमा मुआब्जा वितरण रोकिएकामा सतलज जलविद्युत् निगम (एसएपिडिसी) बाट रकम प्राप्त भएपछि पुनः वितरण सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।

उनले आयोजनाको विकासकर्ता कम्पनी एसएपिडिसीले छुट मुआब्जावापतको ५३ करोड रुपैयाँ जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएपछि वितरण सुरु भएको बताए ।

यसअघि छ्याङकुटी–दिदिङ सडक खण्डअन्तर्गत चार सय ५४ रोपनी जग्गाको छुट मुआब्जा वितरण गर्न सर्वोच्च अदालतले पुस १७ गते आदेश दिएको थियो । त्यसै आधारमा छुट मुआब्जावापत ५३ करोड रुपैयाँ आवश्यक पर्नेमा यसअघि २५ करोड रुपैयाँ मात्र प्राप्त भएको जनाइएको थियो । सो रकम प्रवेशमार्गका पीडितमध्ये ६० परिवारलाई वितरण गरिसकिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए ।

प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलबार  ०६ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।