काठमाडौँ । केन्द्रीय बैंकले आज (आइतबार) पनि ४० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकल तरलता खिच्न लागेको हो ।
अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । निक्षेप संकलनमार्फत राष्ट्र बैंकमा पैसा राख्न सूचना जारी गरिएको छ ।
यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।
घटीमा १ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
तरलता धेरै भएपछि व्यवस्थापनका लागि राष्ट्र बैंकले सातामा २ दिन आइतबार र बुधबार लगातार बजारबाट पैसा झिकिरहेको छ ।
पछिल्लो समय बैंकिङ क्षेत्रमा करिब ७ खर्ब हाराहारी तरलता छ । ब्याजदर न्यून विन्दुमा रहे पनि कर्जा प्रवाह बढ्न नसक्दा तरलता घट्न सकेको छैन । सोही कारण केन्द्रीय बैंकले तरलता तान्दै आएको छ ।
यसअघि गत फागुन २८ गते केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँ बजारबाट तानेको थियो ।
प्रतिक्रिया