समयमा काम नगर्ने ४ ठेकेदार कम्पनी कालो सूचीमा


काठमाडौँ । समयमा काम सम्पन्न नगर्ने र गुणस्तरहीन काम गर्ने विभिन्न ४ वटा निर्माण कम्पनी कालो सूचीमा परेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै ती ४ वटा निर्माण कम्पनीलाई निश्चित अवधि बोलपत्रमा सहभागी हुन नपाउने गरी कालो सूचीमा राखेको जनाएको छ ।

कार्यालयले आइतबार गरेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम कालोसूचीमा राखेको हो । कार्यालयले जिल्ला समन्वय समिति बाराको सिफारिसमा एसडी कन्स्ट्रक्सन जनकपुरलाई १ वर्षका लागि कालो सूचीमा राखेको छ ।

यस्तै, सडक विभाग संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सन्धिखर्कको सिफारिसमा अरनिको निर्माण कम्पनी प्रालि काठमाडौँलाई ३ वर्षका लागि कालो सूूचीमा राखिएको छ ।

यस्तै, कार्यालयले पौवादुङ्मा गाउँपालिका कार्यालयको सिफारिसमा मनकामना सप्लायर्स भोजपुरलाई १ वर्षका लागि कालो सूचीमा राखेको छ । पञ्चकन्या गाउँपालिका नुवाकोटको सिफारिसमा आरएसए कन्स्ट्रक्सन तारकेश्वरलाई १ वर्ष ६ महिनाका लागि कालो सूचीमा राखेको छ ।

कालो सूचीमा परेका कम्पनीले त्यस्तो अवधिभर कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।

प्रकाशित मिति: ११ चैत २०८१, सोमबार  १३ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।