कुलमान बर्खास्तीविरुद्ध प्रदर्शन सुरु, सरकारले बढायो सुरक्षा सतर्कता


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई बर्खास्त गरेपछि सरकाविरुद्ध आन्दोलन र प्रदर्शन सुरु भएको छ ।

प्राधिकरणको कुशल व्यवस्थापन गरी लोडसेडिङ हटाएका कुलमानलाई सरकारले सोमबार पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।

कुलमानलाई हटाएको विरोधमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । सो क्रममा उनीहरूले ऊर्जामन्त्री दीपक खड्काको पुतला दहन गरेका थिए ।

उनीहरूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसबाट खड्काको पुत्ला जलाउँदै प्रदर्शन गरेका थिए । लगत्तै प्रहरीले हस्तक्षेप गरेर आगो निभाएको थियो ।

यस्तै, घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध नेकपा माओवादी केन्द्र आबद्ध भ्रातृ संगठनहरू आन्दोलित भएका छन् ।

आज दिउँसो साढे ३ बजे नयाँ बानेश्वरमा माओवादीका जनवर्गीय संगठन र मोर्चाहरूको संयुक्त विरोध प्रदर्शन गर्न लागिएको हो ।

दिउँसो नयाँ बानेश्वरस्थित एभरेस्ट होटल अगाडि प्रदर्शन र कोणसभामा सहभागी हुन आह्वान गरिएको छ ।

यता, सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै विद्युत् प्राधिकरण परिसरसहित काठमाडौँ उपत्यकामा सुरक्षा सतर्कता बढाइएको छ । प्राधिकरण क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्राधिकरणबाहिर नेपाल प्रहरी र सशस्त्र प्रहरीहरू खटिएका छन् ।

प्रकाशित मिति: १२ चैत २०८१, मंगलबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।