निर्यात ५७ प्रतिशतले बढ्दा ९ खर्ब ८७ अर्बको घाटा व्यहोर्दै मुलुक


नेपालबाट निर्यात हुने वस्तु तथा सेवाको निर्यात बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपालबाट निर्यात हुने वस्तु तथा सेवाको आकार बढेको हो । यद्यपी नेपालको व्यापार घाटाको अगाडी निर्यातको हिस्सा भने ज्यादै न्यून छ ।
चालु आर्थिक वर्षको आठ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ५७.२ प्रतिशतले बढेर १ खर्ब ५८ अर्ब १७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४ प्रतिशतले घटेको थियो ।

गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ८२.५ प्रतिशत, ८.८ प्रतिशत र २.९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, पार्टिकल बोर्ड, अलैँची लगायतका वस्तुको निर्यात बढेको छ भने पाम आयल, जिंक शिट, अदुवा, तयारी पोशाक, जुश लगायतका वस्तुको निर्यात घटेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको आठ महिनामा कुल वस्तु आयात ११.२ प्रतिशतले बढेर ११ खर्ब ४५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २.७ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.९ प्रतिशत, १२.५ प्रतिशत र २०.६ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाई छ ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामलर धान, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पाटर््स, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाइजहाजको पार्टपुर्जा, लेख्ने तथा छाप्ने कागज, रसायनिक मल लगायतका वस्तुको आयात घटेको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ६.२ प्रतिशतले बढेर ९ खर्ब ८७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २.५ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत थियो ।

प्रकाशित मिति: २७ चैत्र २०८१, बुधबार  १८ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।