काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनामा मूल्यवृद्धि दर ३.७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा ४.८२ प्रतिशत रहेको मुद्रास्फीति दर १.०७ प्रतिशत विन्दुले नियन्त्रणमा आएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदन अनुसार, खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ५.९५ प्रतिशत र ४.०७ प्रतिशत थियो ।
यस्तै खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेलको मूल्य १३.७४ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी दाल–गेडागुडी ७.८० प्रतिशत, फलफूल ६.८२ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थ ५.१५ प्रतिशतले महँगो भएको छ । तर, तरकारी, मरमसला तथा माछा–मासु जस्ता वस्तुमा मूल्य घटेको प्रतिवेदनमा उल्लेख छ ।
साथै गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवामा सबैभन्दा धेरै १०.१४ प्रतिशतले मूल्यवृद्धि भएको छ । त्यसपछि कपडा तथा जुत्ता–चप्पल ७.०१ प्रतिशत, मदिराजन्य पेय ६.०७ प्रतिशत, घरायसी उपकरण ५.५९ प्रतिशत र यातायात सेवा ५.०७ प्रतिशतले महँगो भएको छ ।
सहरीभन्दा ग्रामीण क्षेत्रमा बढी असर
फागुन महिनामा ग्रामीण क्षेत्रमा उपभोक्ता मूल्य सूचकाङ्क ४.१८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रमा ३.६० प्रतिशतले बढेको छ । यसरी ग्रामीण उपभोक्तामाथि महँगीको असर अझ बढी परेको प्रस्ट छ ।
प्रदेशगत रुपमा कोशी प्रदेशमा सबैभन्दा बढी ५.६८ प्रतिशत मुद्रास्फीति देखिएको छ भने गण्डकी प्रदेशमा सबैभन्दा कम २.७७ प्रतिशत छ । सुदूरपश्चिममा ४.४१, कर्णालीमा ३.८०, लुम्बिनीमा ३.७७, मधेशमा ३.५२ र बागमती प्रदेशमा २.९८ प्रतिशत मुद्रास्फीति रहेको छ ।
भूगोल अनुसार हिमाली क्षेत्रमा मुद्रास्फीति दर सबैभन्दा धेरै ४.७७ प्रतिशत रहेको छ भने पहाडमा ३.७२ प्रतिशत, काठमाडौं उपत्यकामा ३.२५ प्रतिशत र तराई क्षेत्रमा ३.७७ प्रतिशत रहेको छ ।
फागुन महिनाको थोक मुद्रास्फीति भने अघिल्लो वर्षको ३.६९ प्रतिशतबाट बढेर ४.४३ प्रतिशत पुगेको छ । उपभोग्य वस्तुमा ८.०२ प्रतिशतले, मध्यवर्ती वस्तुमा २.५७ प्रतिशतले, पुँजीगत वस्तुमा ३.१७ प्रतिशतले र निर्माण सामग्रीमा १.६३ प्रतिशतले थोक मूल्य बढेको छ ।
फागुन महिनाको उपभोक्ता मुद्रास्फीतिमा सामान्य सुधार देखिए पनि खासगरी खाद्य र सेवा क्षेत्रमा मूल्यवृद्धि यथावत् छ । ग्रामीण क्षेत्रमा महँगीको असर अझै तीव्र देखिएको छ भने थोक मूल्य सूचकाङ्कको वृद्धिले आगामी दिनमा मूल्यवृद्धि दर बढ्ने संकेत गरेको छ ।










प्रतिक्रिया