सरकारको खर्च साढे आठ खर्ब हुँदा राजस्व परिचालन सवा सात खर्ब


सरकारले चालु आर्थिक वर्षको आठ महिनामा झन्डै साढे आठ खर्ब रुपैयाँ खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा नेपाल सरकारको कुल खर्च ८ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा चालु खर्च ५ खर्ब ८४ अर्ब १३ करोड रुपैयाँ, पुँजीगत खर्च ८२ अर्ब ३४ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १ खर्ब ७२ अर्ब ८९करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ७ खर्ब २० अर्ब ३५ करोड पुगेको छ । यस अन्तर्गत कर राजस्व ६ खर्ब ३८ अर्ब ८० करोड रुपैयाँ र गैर कर राजस्व ८१ अर्ब ५५ करोड रुपैयाँ परिचालन भएको छ ।

नेपाल सरकारको नगद मौजदात तर्फ २०८१ फागुन मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा ३ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँ मौज्दात रहेको राष्ट्र बैंकले जनाएको छ । २०८१ असार मसान्तमा यस्तो मौज्दात ९३ अर्ब ९६ करोड रुपैयाँ थियो । राष्ट्र बैंकका अनुसार सरकारको मौज्दात रकम प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत हो ।

समीक्षा अवधिमा प्रदेश सरकारहरुको कुल खर्च ६८ अर्ब ५ करोड रुपैयाँ र स्रोत परिचालन १ खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ९५ अर्ब ३३ करोड रुपैयाँ र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व २३ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।

 

 

प्रकाशित मिति: २७ चैत्र २०८१, बुधबार  १९ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।