चीन र अमेरिकाबीच व्यापारिक युद्ध चर्किदै गर्दा अन्तर्राष्ट्रिय व्यापार तनावग्रस्त बनेको छ । चीनले अमेरिकी वस्तुहरूमा लाग्ने भन्सार शुल्क ३४ प्रतिशतबाट झन्डै दोब्बरले बढाएर ८४ प्रतिशत पुर्याउने निर्णयसँगै अन्तर्राष्ट्रिय व्यापार तनावग्रस्त बनेको हो ।
अप्रिल १० अर्थात् भोलिदेखि नै लागू हुनेगरी चीनले अमेरिकी वस्तुमा लाग्दै आएको ३४ प्रतिशत भन्सार दर बढाएर ८४ प्रतिशत पुर्याएको हो ।
चीनको यो प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तीव्र भन्सार नीतिपछि आएको हो । ट्रम्पले चिनियाँ आयातमा १०४ प्रतिशतसम्म शुल्क लगाउने घोषणा गरेका थिए । चीनको परराष्ट्र मन्त्रालयले यसअघि नै चेतावनी दिँदै भनेको थियो, “हामी कुनै पनि मूल्य चुकाएर आफ्ना अधिकारको रक्षा गर्छौं।” वासिङ्टनको व्यवहारलाई चीनले दादागिरीपूर्ण भन्दै व्याख्या गरिरहेको छ ।
चीन र अमेरिकाबीचको व्यापारिक लडाइँको असर विश्व बजारमा स्पष्ट देखिएको छ । लन्डनको एफटीएसई १०० सूचकांक २ प्रतिशतभन्दा बढीले घटेको छ भने जापानको निक्केई २२५ सूचकांकमा ४ प्रतिशत र ताइवानको टीएआईईएक्स सूचकांकमा झण्डै ६ प्रतिशतको गिरावट आएको छ ।
यता युरोपेली संघले अमेरिकाबाट आयात हुने मोटरसाइकल, विलासी वस्तु, र सुन्तलाको जुसमा २५ प्रतिशत शुल्क लगाउने तयारी गरिरहेको छ ।
चीनको प्रतिक्रियालाई सामान्य ठहर गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी व्यवसायीहरूलाई सन्देश दिएका छन्, “अहिले नै अमेरिका फर्कन उत्तम समय हो ।” ट्रम्पको भनाइले स्पष्ट संकेत गर्छ कि उनी यो व्यापारिक द्वन्द्वबाट पछाडि हट्न चाहँदैनन् ।
प्रतिक्रिया