भद्रपुर आन्तरिक राजस्वद्वारा ९ महिनामा २अर्ब ३५ करोड राजस्व संकलन


भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा २ अर्ब ३५ करोड १४ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त रकम गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ८.२६ प्रतिशतले बढी हो ।

कार्यालयको तथ्यांकअनुसार गत आव २०८०/८१ को (साउन–चैत) महिनामा २ अर्ब १७ करोड १९ लाख ३ हजार राजस्व संकलन भएको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिए । चालु आव २०८१/८२ मा ४ अर्ब ६१ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको उनले बताए ।

गत आवको भन्दा राजस्व संकलन बढेको भए पनि चालु आवको ९ महिनाको लक्ष्यको ८१ दशमलव ४५ प्रतिशत मात्र राजस्व संकलन भएको कर अधिकृत सुनुवारले बताए । कार्यालयले ९ महिनामा  आयकरबाट १ अर्ब ७ करोड ९४ लाख ९४ हजार, ब्याजबापत ७ करोड १९ लाख ९४ हजार, मूल्य अभिवृद्धि करबापत ७६ करोड ७१ लाख ९ हजार, अन्तःशुल्कबापत ३९ करोड ९७ लाख ६७ हजार रुपैयाँ संकलन गरेको छ ।

यसैगरी आयकर र मूल्य अभिवृद्धि कर नतिर्ने विभिन्न ११ वटा फर्म तथा कम्पनीलाई कारबाही गरी १ करोड ७५ लाख असुल गरिएको कर अधिकृत सुनुवारले जानकारी दिए ।

‘कार्यालयले राजस्व संकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता राख्ने करदाताको बैंक खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायत कानुनी कारबाही पनि गरिएको छ,’ उनले भने ।

प्रकाशित मिति: ४ वैशाख २०८२, बिहीबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।