काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेअनुसार सरकार बन्ने र ढल्ने नहुने बताएको छ ।
बिहीबार बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले प्रचण्ड प्रतिपक्षमा भएकाले सरकार ढल्दै छ भन्नु स्वाभाविक भएको बताए ।
उनले भने, ‘प्रचण्ड प्रतिपक्षमा हुनुहुन्छ, उहाँले यो सरकार ढलिहालोस् भन्नु स्वाभाविक हो। उहाँले भनेको कुरामा हाम्रो टिप्पणी छैन। तर उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र भत्किने हुँदैन ।’
गठबन्धन सरकार भन्नासाथ सबै एउटैको मात्रै निर्णय लागू नहुने पनि उनले बताए । ‘गठबन्धन सरकार भन्नेबित्तिकै एउटै दलको सबै थोक हुँदैन,’ प्रवक्ता महतले भने, ‘समन्वयको आवश्यकता छ । सबैको कुरा समेट्नपर्ने आवश्यकता छ । नियुक्तिका कुरामा पनि सन्तुलनको आवश्यकता छ ।’
साथै, बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने निष्कर्ष निकालेको छ । प्रवक्ता महतले भने, ‘सरकारले सशक्त डेलिभरी दिन सक्नुपर्छ र तालमेल राम्रो मिल्नुपर्छ भन्ने कुरा उठेको छ । त्यो सम्बन्धमा नेतृत्व तहले कुराकानी गरिरहेको छ । सुधार आवश्यक भएको ठाउँमा थप समन्वय गर्नुपर्छ भन्ने कुरा छ ।’
बैठकमा सरकारप्रति असन्तुष्ट नेताहरूले आफ्नो कुरा राखेको उनले बताए । सभापतिले आफूले प्रधानमन्त्रीसँग कुरा गरिरहेकाले नमिलेका कुराहरूमा सहमति जुट्ने बताएको सुनाए ।
‘पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा समग्र राजनीतिक परिस्थितिबारे विश्लेषण भयो । शिक्षक आन्दोलन र आगामी केन्द्रीय समिति बैठकलगायतमा पनि कुराकानी गर्यौं,’ उनले भने ।
प्रतिक्रिया