काठमाडौँ । चालु आर्थिक वर्षमा सेयर धितो कर्जा लिएर लगानी गर्नेहरूको उल्लेख्य वृद्धि भएको छ । सेयर धितो कर्जामा बैंकहरूले कर्जा प्रवाह बढाउँदै जाँदा त्यसको प्रभाव सेयर बजारमा पनि पर्दै गएको देखिएको छ ।
गत असारमा बैंक तथा वित्तीय संस्थाले ९० अर्ब ९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । जुन बढेर फागुनसम्ममा १ खर्ब १८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
गत असारको तुलनामा फागुनसम्ममा सेयर धितो कर्जा ३१.५ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । गत आवको ८ महिनामा यस्तो कर्जा वृद्धि १२.३ प्रतिशत मात्रै थियो ।
गत असारदेखि फागुनसम्ममा सेयर धितो कर्जा २८ अर्ब ४० करोड रुपैयाँभन्दा बढी लगानी भएको तथ्यांकले देखाएको छ । जबकि गत आवको ८ महिनामा यस्तो कर्जा ९ अर्ब ३९ करोड रुपैयाँ हाराहारी मात्रै लगानी भएको थियो ।
कुन महिना कतिले बढ्यो सेयर धितो कर्जा ?
यसबीचमा हरेक महिना बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जा बढाउँदै लगेको देखिन्छ ।
गत असारको तुलनामा साउनमा १.५ प्रतिशतले सेयर धितो कर्जा बढेर ९१ अर्ब ४४ करोड रुपैयाँ पुगेको थियो । त्यसपछि भदौमा यस्तो कर्जा विस्तार १०.७ प्रतिशत बढेर ९९ अर्ब ७६ करोड रुपैयाँ पुगेको थियो ।
असोजमा असारको तुलनामा सेयर धितो कर्जा विस्तार १७.५ प्रतिशतले बढेर १ खर्ब ५ अर्ब ८२ करोड रुपैयाँ पुगेकामा कात्तिकमा १९.६ प्रतिशतले बढेर १ खर्ब ७ अर्ब ७६ करोड रुपैयाँ पुगेको थियो ।
यसपछि मंसिरमा असारको तुलनामा सेयर धितो कर्जा १९.८ प्रतिशत बढेर १ खर्ब ७ अर्ब ९४ करोड रुपैयाँ पुगेकामा पुसमा २६.३ प्रतिशतले बढेर १ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको थियो ।
गत असारको तुलनामा माघमा सेयर धितो कर्जा २७.८ प्रतिशतले बढेर १ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ पुगेको थियो । फागुनमा भने यस्तो कर्जा ३१.५ प्रतिशतले बढेर १ खर्ब १८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
के कारणले बढ्यो ?
ब्याजदर
सेयर धितो कर्जा प्रवाह बढाउन न्यून ब्याजदरले मुख्य भूमिका खेलेको छ । चालु आवको फागुनमा वाणिज्य बैंकहरूको औसत आधार दर ६.३४ प्रतिशत, विकास बैंकहरूको ८.४२ प्रतिशत र वित्त कम्पनीहरूको ९.३२ प्रतिशत छ ।
२०८० फागुनमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.७७ प्रतिशत, विकास बैंकहरूको १०.७१ प्रतिशत र वित्त कम्पनीहरूको १२.३३ प्रतिशत थियो ।
यस्तै, २०८१ फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ८.४० प्रतिशत, विकास बैंकहरूको ९.७८ प्रतिशत र वित्त कम्पनीहरूको १०.५३ प्रतिशत छ ।
२०८० फागुनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १०.७८ प्रतिशत, विकास बैंकहरूको १२.५२ प्रतिशत र वित्त कम्पनीहरूको १३.६१ प्रतिशत थियो । यसरी ब्याजदर घट्दै जाँदा सेयर बजारतर्फ जाने कर्जा बढ्न सहज भएको हो ।
पर्याप्त तरलता
अर्थतन्त्रमा आएको सुस्तताका कारण अहिले बैंकिङ प्रणालीमा तरलता पर्याप्त छ । अन्य क्षेत्रमा कर्जाको माग हुन नसकिरहेको र सुस्त अवस्था रहँदा सेयर बजार चलायमानको दिशामा छ ।
त्यसकारण पनि लगानीकर्ताहरूले अन्य ठाउँको विकल्पमा सेयर बजारमा नाफा कमाउने उद्देश्यले कर्जा लगानी बढाएका हुन् । जसका कारण समग्र सेयर धितो कर्जा बढाउन सहयोग पुगेको छ ।
राष्ट्र बैंकको नीति
सेयर बजारमा जाने कर्जा विस्तारलाई प्रत्यक्ष प्रभाव पार्ने नीतिहरूमा चालु आवको मौद्रिक नीतिमा राष्ट्र बैंकले लचकता अपनाएको छ ।
मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले सेयर बजारका संस्थागत लगानीकर्ताहरूका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोड रुपैयाँसम्मको सीमा खारेज गरेको छ ।
यससँगै मौद्रिक नीतिले वाणिज्य बैंकहरूको खराब कर्जा घटाउने उद्देश्यले असल कर्जामा १.१ प्रतिशत मात्रै प्रोभिजन गरे पुग्ने व्यवस्था, रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा २ करोड रुपैयाँबाट बढाएर साढे २ करोड पु¥याइनु, रेगुलेटरी रिजर्भको रकम टियर टू क्यापिटलमा गणना गर्न पाउने जस्ता व्यवस्था गर्दा लगानीकर्ताहरू उत्साहित भएका हुन् ।
यी नीतिहरूमा लचकता अपनाउँदा लगानीकर्ताको मनोबल बढ्न पुगेको र उनीहरूले सेयर बजारमा लगानी बढाउँदै गएको जानकारहरू बताउँछन् ।
लगानीकर्ताको मनोबल बढ्नु
पछिल्लो समय सरकार पनि सेयर बजारप्रति सकारात्मक हुँदै गएकाले लगानीकर्ताको मनोबल बढ्दै गएको जानकारहरू बताउँछन् । लगानीकर्ताले क्रमशः नीति लचक हुने अपेक्षासमेत गरेको उनीहरूको बुझाइ छ ।
कर्जा अझै बढ्ला ?
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार गत बिहीबार (वैशाख ४) नेप्से परिसूचक २६.४९ अंकले बढेर २७२२.७३ विन्दुमा पुगेको छ । बजार यसबीचमा धेरै पटक माथि जान खोजे पनि उतारचढाव भइरहेको अवस्था छ । त्यो उतारचढावलाई पार गर्दै अहिले नेप्से २७०० विन्दुमाथि उक्लिएको हो ।
यसअघि परिसूचक ३२०० विन्दुसम्म पुगिसकेको अवस्थाबाट घटेकाले त्यो विन्दुमा फेरि पुग्ने लगानीकर्ताको विश्वास छ ।
सरकारसमेत सेयर बजारप्रति सकारात्मक बन्दै गएको अवस्थामा नीतिहरू थप लचिलो आउने र परिसूचक सो विन्दुभन्दा माथि पुग्ने विश्वासले नै अहिले लगानीकर्ताहरूले कर्जा लिएर सेयर बजारमा लगानी गरिरहेका हुन् । जानकारहरूले बजार अझै केही माथिसम्म पुग्ने विभिन्न अनुमान गर्दैै आएका छन् ।
नयाँ गभर्नरको पर्खाइ
लगानीकर्ता यतिखेर नयाँ गभर्नर कस्तो आउला भनेर हेरिरहेका छन् । राष्ट्र बैंकको गभर्नर पद गत चैत २४ देखि रिक्त छ । अबको केही दिनमै मन्त्रिपरिषद्ले गभर्नर नियुक्ति गर्दै छ ।
अब आउने गभर्नरले सेयर बजारप्रति सकारात्मक धारणा राख्ने र नीति लिने लगानीकर्ताको विश्वास छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारमा अनावश्यक हस्तक्षेप गरेकाले लगानीकर्ताको घरबार डुबेको, अर्बौँ रुपैयाँ नोक्सानीमा परेकोलगायत आरोप उनीहरूले लगाउँदै आएका छन् ।
केही लगानीकर्ताले अधिकारीले अवकाश पाएको खुसियालीमा दीप प्रज्ज्वलनसमेत गरेका थिए । उनीहरूले अबको गभर्नर कुनै बजारप्रति नकारात्मक हुने किसिमको हुन नहुने बताउँदै आएका छन् ।
लगानीकर्ताको अबको मनोबल र सेयर बजारको दिशा केही हदसम्म नयाँ गभर्नर आएपछि पुनः निर्धारण हुन सक्ने जानकारहरू बताउँछन् ।
यद्यपि बजार अहिले बढ्ने दिशामा रहेको र सेयर बजारप्रति सकारात्मक रहेको कांग्रेस–एमाले गठबन्धनको सरकार नै कायम रहे बजार थप माथि जाने उनीहरूको विश्वास छ ।
प्रतिक्रिया