निर्यात संघका अध्यक्षलाई ३ प्रश्न

‘सरकारसँग ठोस नीति छैन, निजी क्षेत्रको भरमा धानिएको छ निर्यात क्षेत्र’


काठमाडौँ । देशको निर्यात प्रणाली नाजुक छ । कोभिड महामारीपछि धेरै उद्योगधन्दा बन्द भए । जसको प्रत्यक्ष प्रभाव निर्यात क्षेत्रमा परेको देखिएको छ ।

उद्योगधन्दा बन्द हुँदा सरकारले न निर्यात बढाउन सकेको छ, न भएका उद्योगलाई नै प्रोत्साहन गर्न सकेको छ । जसले गर्दा मुलुकले वैदेशिक व्यापार घाटा बेहोर्दै आएको छ ।

चालु आर्थिक वर्षमा नेपालले १६३ देशसँगको व्यापारमा ११ खर्ब रुपैयाँ बराबरको घाटा बेहोरेको छ ।

३ प्रश्नको आजको अंकमा हामीले वैदेशिक व्यापार घाटा र निर्यातको विषयमा नेपाल निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठसँग कुरा गरेको छौँ ।

नेपालबाट कस्ता वस्तु कुन देशमा बढी निर्यात हुन्छ ?

नेपालबाट भारततर्फ हेर्ने हो भने भटमासको तेल धेरै निर्यात हुने गरेको छ । यस्तै, भारतमा अलैँची, प्लाइउड, सिमेन्टको निर्यात धेरै हुने गरेको छ ।

फेरि युरोप, अमेरिकातिर गलैँचा, छुर्पी, चाँदीका गहना, चिया, कफी, हस्तकलालगायत सामाग्री धेरै निर्यात हुन्छ । यो निर्यातको मात्रा बढाउन सकिएको छैन ।

आयात १२ खर्बको हुँदा निर्यात डेढ खर्बको मात्र छ । जुन विडम्बना हो । आयातको तुलनामा निर्यात बढाउन नसक्दा देशले पनि ठुलै घाटा बेहोरिरहनु परेको छ ।

निर्यात गर्दा भोग्नुपरेका समस्या के–के हुन् ?

हामीले विदेशी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सकेका छैनौँ । जसले निर्यातलाई ठुलो असर पुर्‍याइरहेको छ । विदेशी कम्पनीहरूको तुलनामा हाम्रो उत्पादनमा धेरै लागत लाग्छ । जसले गर्दा बाह्य मुलुकका उपभोक्ता पनि विदेशी कम्पनीकै वस्तुतिर धेरै आकर्षित हुने गरेको पाइएको छ ।

हामीले सरकारबाट पाउने अनुदान पाइरहेका छैनौँ । जसले गर्दा हाम्रो उत्पादनको मूल्य बढी पर्छ ।

निर्यातकर्ताले लिएको ऋणको ब्याजदर र साधारण व्यापारीले लिएको ऋणको ब्याज बराबर छ । त्यसकारण निर्यातका लागि भनेर सरकारले छुट्टै सहुलियत दरको कर्जा दिने, ५ प्रतिशतमा कर्जा दिने कुराहरू हामीले सरकारसँग माग गरेका छौँ । तर त्यो पाएका छैनौँ ।

हाम्रो उत्पादन लागत कम हुन नसक्नुको कारण भनेको हामीले सबै कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्छ । कच्चा पदार्थ बाहिरबाट ल्याउँदा हामीलाई महँगो पर्छ ।

फेरि हामीले यहाँबाट विदेश पठाउँदा हाम्रो ढुवानी भाडा पनि महँगो पर्न जान्छ । जस्तो भारत र चीनले एउटा कन्टेनर ३ हजार डलरमा पठाउँछन् । तर, हाम्रो चाहिँ ४ हजारदेखि ४५ सय डलरसम्म पर्न जान्छ ।

हामीले काठमाडौँदेखि कलकत्तासम्म बाइरोड पठाउनुपर्छ । त्यहाँ २ हप्तासम्म समय लाग्छ । जसले गर्दा हामीले सामान निर्यात गर्दा लाग्ने समय लामो हुन जान्छ र सामान महँगो पर्छ ।

पहिला नेपालमा जति पनि फ्लाइट आउँथे । अहिले ती इन्टरनेसनल फ्लाइट धेरै नआएकाले गर्दा ढुवानी भाडा पनि महँगो छ । त्यसैले निर्यात जेनतेन चलिरहेको छ ।

निर्यात बढाउन सरकारले के गर्नुपर्ला ?

सरकारको निर्यात नीति छैन । यो वर्ष निर्यात डेढ खर्ब रुपैयाँ छ । अर्को वर्ष ३–४ खर्ब पुर्‍याउने भन्नेबारे केही योजना नै छैन ।

अहिले जति पनि निर्यात भइरहेको छ । त्यो निजी क्षेत्रको पहलबाट मात्र भइरहेको छ । सरकारले निर्यातका लागि ठोस योजना ल्याएको छैन । जसले गर्दा निर्यातकर्तालाई समस्या भइरहेको छ ।

हामीसँग ल्याब छैन । कच्चा पदार्थ उत्पादन गर्ने स्रोत साधन छैन । दक्ष जनशक्ति सबै विदेश पलायन भएका छन् ।

सरकारले दक्ष जनशक्ति उत्पादन गर्न सातै प्रदेशमा तालिम सेन्टर स्थापना गर्नुपर्नेमा गर्न सकेको छैन । त्यसैले सरकारले निर्यात क्षेत्रमा केही गर्ने हो भने यी समस्याको समाधानमा जोड दिनुपर्छ ।

प्रकाशित मिति: १४ वैशाख २०८२, आइतबार  ११ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।