काठमाडौँ । शिक्षा ऐन जारी गर्ने अभियान लिएर देशभरका शिक्षकहरू काठमाडौँ छिरेको आज २६ दिन भइसकेको छ । उनीहरूले २६ दिनदेखि बानेश्वरदेखि माइतीघरसम्मको ३ लेन बाटो अवरुद्ध पारेर आन्दोलन गरिरहेका छन् ।
कतिपय शिक्षक आन्दोलन सफल पार्न, आफ्ना माग पूरा गराउन सडकमा उत्रिएका छन् भने कतिपय हाजिरी जनाउन मात्र सडकमा आएका छन् ।
यसैबीच, हामी शिक्षक आन्दोलनको स्थलगत रिपोर्टिङ गर्न बानेश्वर क्षेत्र पुगेका थियौँ । त्यहाँ कोही गीत गाइरहेका थिए, कोही नाचिरहेका थिए, कोही कविता, चुड्किला, जोक भन्दै दिन कटाइरहेका थिए ।
त्यसै क्रममा एक जना शिक्षक भेटिए । उनी भने त्यहाँ हाजिर गर्न मात्र पुगेका रहेछन् । हामीले शिक्षक आन्दोलन किन र केका लागि ? भनेर उनलाई सोध्यौँ । नाम र ठेगाना नबताउने सर्तमा उनले भने, ‘शिक्षा ऐन जारी गर्नुपर्यो रे ! म त स्कुलमा हाजिर गर्न नपाउने भएकाले हाजिर मात्र लगाउन आएको हुँ ।’
सडकमा हाजिर लगाएर सो दिनको तस्बिर खिचेर स्कुलमा पठाएपछि उक्त दिनको तलब पाक्ने भएकाले आफू त्यहाँ आएको उनले बताए । ती शिक्षकले भने, ‘म त भर्खरै आएको हुँ । अब गइहाल्छु । मैले हाजिर लगाइसकेँ ।’
यस्तै, अर्का एक शिक्षक आफ्नी भान्जीको बिहेका लागि गाउँबाट काठमाडौँ आएका रहेछन् । आन्दोलनका लागि काठमाडौँ नआए पनि स्कुलको तलब पकाउन उनी आन्दोलनमा सहभागी भएको बताउँछन् ।
उनी भन्छन्, ‘हाजिर गर्न भने पनि आन्दोलनमा जानुपर्ने छ, नभए स्कुलले बिदा जनाउँछ । अहिले आन्दोलनमा गएर फोटो खिचेपछि यो बिदा त पछि लिन पाइयो नि !’
यता, २६ औँ दिनदेखि आन्दोलनमा उत्रिरहेका एक शिक्षक भने आन्दोलन र यसका सबै मुद्धाहरु जायज भएको बताउँछन् । उनले भने, ‘सरकारले पटक पटक हाम्रो मागलाई आलटाल गर्ने काम गर्यो त्यसैले अब हामी ऐन पारित गरेर मात्र सडक छाड्छौँ ।’शिक्षक महासंघले अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी, बालकक्षाका शिक्षक, स्थायी शिक्षकको बढुवा, तलब र ग्रेड वृद्धि, स्थायी आन्तरिक प्रतिस्पर्धा, निवृत्तिभरण व्यवस्था, अस्थायी सेवा अवधिको गणना, माथिल्लो तहमा स्थायी हुँदा पाउने तलब, सेवा सुविधाको मागसहित आन्दोलन गर्दै आएको छ ।
त्यस्तै, द्वन्द्वपीडित शिक्षक, संस्थागत विद्यालयका शिक्षक, प्रधानाध्यापकको व्यवस्था, शिक्षण काउन्सिल, विभागीय कारबाहीको विषयसमेत उनीहरूले अघि सारेका छन् । कार्य सम्पादन मूल्यांकन, शिक्षक–कर्मचारीको सरुवा, पेसा प्रवेश उमेर, विद्यालय व्यवस्थापन समिति, जिल्लामा शिक्षाको एकाइ, पद समायोजन, विद्यालयको सम्पत्ति हस्तान्तरण, प्राविधिक ग्रेडलगायत विषयसमेत महासंघले उठान गरेको छ ।
त्यस्तै, शिक्षकको मर्यादाक्रम, शिक्षक दरबन्दी, नेपाल शिक्षक महासंघ र शैक्षिक प्रशासनमा शिक्षकको सहभागिता र अध्ययनमा आर्थिक सहयोगको विषयमा समेत ऐनमा सम्बोधन गर्नुपर्ने उनीहरूको माग छ ।
यता, स्थायी शिक्षकहरूले भने शिक्षक बढुवाको व्यवस्थापन गर्नुपर्ने, तलब र ग्रेड कायम गर्नुपर्ने माग गरिरहेका छन् ।
महासंघले शिक्षकहरूको हक हितका लागि आवाज उठाइरहे पनि शिक्षकहरू भने झारो टार्न आन्दोलनमा सरिक भएको पाइएको छ ।
शिक्षकहरूको आन्दोलनले विद्यार्थीको पठनपाठन ठप्प भएको छ । शिक्षकहरूको यो आन्दोलनले विद्यार्थीको भविष्यमा दीर्घकालिन असर पर्ने विज्ञहरूले बताउन थालेका छन् ।
त्यति मात्र होइन, शिक्षकहरूको आन्दोलनले व्यापार व्यवसाय ठप्प छ । मागहरू पूरा नभएसम्म आन्दोलन नरोक्ने र पठनपाठनमा नफर्कने बताइरहँदा सो क्षेत्रको यातायात, पसलहरू सञ्चालनमा आउन सकेका छैनन् ।
आन्दोलनकै कारण एसइईको उत्तर पुस्तिका जाँच हुन सकेको छैन भने कक्षा १२ को परीक्षा सारिसकिएको छ ।
आन्दोलन भइरहँदा सर्वसाधारण, विद्यार्थी, अभिभावक सबै मारमा परेका छन् । पठनपाठन ठप्प हुनुका साथै आन्दोलनले व्यापारमा पनि कमी आएको व्यापारीहरूको गुनासो छ ।
बानेश्वरमा कपडा व्यवसाय गर्दै आएकी अञ्जना घिमिरे व्यापार हुने समयमा आन्दोलन भएपछि चिन्तित छिन् । उनले रिसको भावमा भनिन्, ‘गाडी नै नचलेपछि कसरी व्यापार हुन्छ । व्यापार हुने समयमा आन्दोलन भएपछि कसको के लाग्छ र, मान्छे नै आउँदैनन् । सबै डामाडोल छ ।’
शिक्षकहरूको मागको विषयमा भने आफू अनभिज्ञ रहेको बताउँदै उनले भनिन्, ‘ठिकै त होला नि ! नत्र यत्रो दुःख गरेर ७७ जिल्लाबाट काठमाडौँ किन आउँथे होला र यस्तो घाममा ! सरकारले माग पूरा गरेर छिटो पठाउनु नि ! सरकार पनि उस्तै छ ।’
बानेश्वर क्षेत्रमा आन्दोलन भइरहने बताउँदै उनले आफूहरूले सधैँ यस्तै समस्या भोगिरहनुपरेको गुनासो गरिन् । देशको अवस्था देखेर चिन्तित बनेकी उनले भनिन्, ‘यो बानेश्वर क्षेत्रमा सधैँजसो आन्दोलन भइरहन्छ । कहिले कसको, कहिले कसको यस्तै हो । देशमा सबै भताभुंग छ ।’
यस्तै, बानेश्वरमा थकाली भन्सा घर सञ्चालन गर्दै आएका विकास कपाली शिक्षकहरूले लगातार २६ दिनसम्म गरेको आन्दोलनले व्यवसायमा ठुलो असर पारेको बताउँछन् ।
गाडी नचल्ने भएकाले दिउँसो काम गर्ने स्टाफ आउन सक्ने स्थिति नभएकाले समस्या नित्याएको उनको भनाइ छ । यस्तै उनी खाना डेलिभरी गर्न जान नसकेर पनि बिजनेस एकदम डाउन भएको र सटर लाएर बस्नुपर्ने अवस्था रहेको बताउँछन् ।
यता, बानेश्वरकै रुतेना होटलका सञ्चालक दीपक खत्री भने अहिले आफ्नो व्यापार फस्टाएको बताउँछन् । निरन्तर आउने ग्राहक नआए पनि आन्दोलन गर्न आउने शिक्षकहरूले नै खाइदिँदा आफूहरूलाई व्यापार चलाउन सहज भएको उनको भनाइ छ ।
उनले भने, ‘तर, यो त आन्दोलन हो, कति दिनको हो, थाहा छैन । तर व्यापार त दीर्घकालीन हो । व्यापारमा क्षणिक लाभ हेरेर हुँदैन । दैनिक आउने ग्राहक अन्तै गइरहेका छन् । यसले हामीलाई पछिसम्म असर पर्ने देखिन्छ ।’
शिक्षकहरूको आन्दोलनले आफूहरूलाई समस्या परेको उनी बताउँछन् । ‘धेरै जना आउँछन्, एक बोतल पानी खान्छन्, घन्टौँ मिटिङ गर्छन् । ट्वाइलेट युज गर्न मात्रै आउने उत्तिकै हुन्छन् । ग्राहकभन्दा पनि शौचालय जाने र मिटिङ गर्ने बढी आउछन्,’ उनले भने, ‘भिडभाड देखेर अरू आएका ग्राहक पनि फर्केर जान्छन् । बाहिर घाम छ, छायाँमा बस्न पनि यतै आउँछन् यस्तै छ ।’
प्रतिक्रिया