काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता महेशकुमार श्रेष्ठले संघको यही वैशाख २० देखि २२ गतेसम्म (मे ३-५, २०२५) काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नु पर्ने बताएका छन् ।
‘अहिले विषम परिस्थितिमा महाधिवेशन हुन गइरहेको छ। सबै पक्षलाई सहभागी गराएर अधिवेशन गराउने प्रयत्न जारी छ। एकता महाधिवेशनबाट हामीले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्यौँ भने अहिले सहभागी हुन छुटेका साथीहरुलाई पनि समेटेर संस्थाभित्र बृहत् एकता कायम गर्न सजिलो हुनेछ,’ उनले भने।
अभियन्ता श्रेष्ठले सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिका संयोजकसहित सबै एकै थलोमा भएकाले अहिलेको समस्याको निकास खोज्न आग्रह पनि गरे ।
‘एकता महाधिवेशनका लागि डेलिगेटहरू काठमाडौँ आउने क्रम सुरु भएको छ । अधिवेशनको तयारी करिब पूरा भएको छ। यस्तो अवस्थामा अब महाधिवेशन पर सार्नु भन्दा वैधानिक हिसाबले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर त्यस पछि पनि एकताको प्रयास जारी राख्नु पर्छ,’ श्रेष्ठले भने।
जापानमा सफल व्यवसायीका रूपमा चिनिएका अभियन्ता श्रेष्ठले यो महाधिवेशनबाट जित र हारभन्दा पनि संस्थालाई योगदान दिन सक्ने टिम बनाएर अघि बढ्नुपर्ने बताए। ‘मैले सधैँ एनआरएनएभित्र संवाद, छलफल, सहमति र सहकार्यका लागि जोड दिँदै आएको छु। अहिले पनि संस्थाभित्र सहमति र एकताको वातावरण बनाउन जस्तोसुकै भूमिका निर्वाह गर्न म तयार छु,’ उनले भने।
महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट) बन्न करिब ३ हजार २०० जनाले आवेदन दिएको र प्रक्रिया पूरा गरेका डेलिगेटहरूको निवेदन स्वीकृत गर्ने क्रम जारी रहेको उच्चस्तरीय समितिको सचिवालयले जनाएको छ।










प्रतिक्रिया