काठमाडौँ । कोरोना माहामारीका कारण सुस्ताएको होटल व्यवसायमा अहिले भने केही सुधार देखिएको छ । अन्य व्यवसायको तुलनामा यसमा फाइदा देखिएपछि सो क्षेत्रका लगानीकर्ता हौसिएका छन् । ठुला तारे होटलहरू थपिने क्रममा छन् ।
तर, होटल चलायमान बनाउन अत्यावश्यक पूर्वाधार निर्माण भएको पाइएको छैन । सडकको अवस्था अस्तव्यस्त छ । ३ प्रश्नको आजको अंकमा हामीले होटल व्यवयासको विषयमा होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विकायक शाहसँग कुरा गरेका छौँ ।
-
होटल व्यवसाय लयमा फर्किएको हो ?
तथ्यांकले होटल व्यवसाय लयमा फर्किएको देखाएको छ । २०१९ मा अर्थात् कोरोना महामारीअघि ११ लाख ९६ हजार पर्यटक भित्रिएका थिए । अहिले २०२४ मा आएर ११ लाख ४७ हजारको हाराहारी पर्यटक भित्रिएका छन् ।
होटलको संख्या पनि २०१९ को भन्दा धेरै बढिसकेको छ । हाम्रो जुन क्षमता छ, त्यसको एक तिहाइ मात्र उपयोग भइरहेको छ ।
संसारभरका ठुला चेन होटलहरू एकपछि अर्को गर्दै नेपाल भित्रिरहेका छन् । त्यसले गर्दा हाम्रो क्षमतामा अत्यधिक वृद्धि भइरहेको छ । नेपालको प्रचारप्रसार बढेको छ ।
चेन होटलहरूले नेपाललाई प्रसारप्रसार गरिरहेका छन् । यो होटल व्यवसायीका लागि सकारात्मक पाटो हो ।
यता, नेपाली ब्रान्डहरूले पनि देशैभर शाखा विस्तार गरिरहेका छन् । विदेश पनि गइरहेका छन् । त्यो राम्रो पक्ष हो ।
तर, एअरपोर्ट, राजमार्गको स्थितिले पर्यटक ल्याउन सकिने अवस्था छैन । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बनेर पनि चल्न सकेका छैनन् । पर्यटनसँग सम्बन्धित पोखरा, चितवन, लुम्बिनीका हाइवेहरू अस्तव्यस्त छन् ।
होटल क्षेत्रको क्षमता चाहिँ विस्तार भएको छ । खर्बौंको लगानी पनि भएको छ । तर, आउनुपर्ने पर्यटक पनि नआएकाले कसरी पर्यटक बढाउने भन्नेमै छौँ ।
-
होटल व्यवसायका चुनौतीहरू के–के हुन् ?
अहिलेको सबैभन्दा ठुलो चुनौती भनेको कनेक्टिभिटी हो । हामी भारत र चीनको बीचमा छौँ । करोडौँ चिनियाँ र करौडौँ भारतीयहरू आफ्नो देशभन्दा बाहिर निस्किन्छन् ।
झन्डै १५ देखि २० करोडको हाराहारी चिनियाँ, ८ देखि १० करोडको हाराहारीमा भारतीयहरू आफ्नो देशभन्दा बाहिर निस्किन्छन् । त्यसैले उनीहरूले खोजेको अनुपातमा सस्तो र सामान भेटिन सक्ने हुँदाहुँदै पनि कनेक्टिभिटी नहुँदा समस्या आएको हो ।
भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल त बने । तर, सञ्चालनमा आएको छैन । काठमाडौँबाट पोखरासम्मको २०० किलोमिटर बाटो पार गर्न १०–१२ घन्टा लाग्छ । घुम्न आउने मान्छे धुवाँ धुलो खाएर को हिँड्छ ? अहिलेको मुख्य चुनौती भनेको हाम्रो कनेक्टिभिटी हो । पूर्वाधारको विकास हुन सकेको छैन ।
होटलको विकास भयो । तर, सरकारी स्तरबाट हुनुपर्ने पूर्वाधार विकासचाहिँ हुन सकेको छैन । ३ वर्षमा सकिनुपर्ने योजना ६ वर्षसम्म पनि ३० प्रतिशतमात्र प्रगति हुन्छ । मुख्य चुनौती नै यही हो ।
-
सरकारले होटल व्यवसायीका लागि के गर्नुपर्ला ?
पर्यटन भनेको आर्थिक समृद्धि दिन सक्ने मजबुत क्षेत्र हो । यसले मनग्य योगदान दिन सक्छ ।
सरकारले नीति–कानुन घोषणा त गर्छ, तर कार्यावन्यन हुँदैन । कोभिडपछि होटल व्यवसाय पुरानै अवस्थामा फर्केर त आयो । तर, हामी कसरी आयौँ र राज्यले मूलभूत प्रयास के गर्यो भन्ने प्रश्न राज्यले आफैँलाई गर्नुपर्छ ।
हामीले आ–आफ्नो क्षेत्रबाट जुन प्रयास गर्यौँ, त्यो सकारात्मक भयो । तर, यसमा राट्रिय संयोजन खोइ त ? सरकारको राष्ट्रिय कार्यक्रम के हो ? राष्ट्रिय नीति के हो ?
३ तहकै सरकार पर्यटनको विकास गर्ने भन्छन् । केन्द्रले १६ लाख पर्यटन भित्र्याउने भन्छ । सबैको फरक बोली छ । राष्ट्रिय कार्यक्रम के हो त ? राष्ट्रिय नीति के हो भन्ने कुराको अभाव छ ।
सरकारले नीति तथा कार्यक्रम ल्याउने बेला भएको छ । बजेट आउने बेला भएको छ । सरकारले पर्यटन दशक भनेर २०२५–२०३५ लागू गर्ने भएको छ । पर्यटन दशक आयो भने पनि हाम्रो देशले के गर्न खोजेको प्रष्ट हुन्थ्यो ।
हाम्रो पर्यटन नीति २०६५ सालको छ । पर्यटन ऐन २०३५ सालको छ । त्यसकारण अगाडि कसरी लाने भन्ने राष्ट्रिय खाका चाहिन्छ । त्यसको अभाव छ ।
प्रतिक्रिया