गाईपालनबाटै मासिक १ लाख आम्दानी


दाङ । वैदेशिक रोजगारीबाट फर्किएर घोराही उपमहानगरपालिका–१ सुकाखोलाका बोमबहादुर थापाले गाईपालन व्यवसायबाट मनग्य आम्दानी गरेका छन् । उनले करिब ११ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र दुबईमा काम गरेका थिए । उनले भने, ‘विदेशमा १८ घण्टा काम गर्छौँ, कमाइ भएको देख्छौँ, स्वदेशमा काम ८ घण्टा पनि गर्दैनौँ कमाइ चाँही धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ ।’

बिहानै ४ बजे उठेर गाई दुहुने र गाउँका अन्य किसानकोसमेत दूध लिएर घोराही बजारको डेरीमा पुर्याउने अनि घर फर्केर फेरि गाईको हेरचाह गर्ने यसरी नै बित्छ थापाको दैनिकी । उसो त थापाका लागि कामको चाप भने विदेशको जस्तै छ । थापाले विगत ५ वर्षदेखि १ दिन पनि यो काम छुटाएका छैनन् । थापालाई लाग्छ म एक दिन बिरामी भएँभने यो दूध अर्काे दिन कहाँ लगेर बेचुँ । गाईलाई दानापानीको काम परिवारका अन्य सदस्यले गरेपनि दूध बजारसम्म पुर्याउने काम भने थापा आफैले मात्र गर्दै आएका छन् । सुरुमा २ वटा गाईबाट यो पेसामा लागेका थापासँग हाल १७ वटा गाई छन् । तीमध्ये ७ वटा दुहुना छन् । दैनिक ८० लिटर दूध उत्पदान हुने गरेको थापाको भनाइ छ ।

विदेशमा कमाएको पैसाले घोराही बजारमा घडेरी किनेर १ तलाको घर बनाएका थापाले स्वदेश आएपछि ट्रक किन्नेदेखि बाख्रा पाल्नेसम्मको काम गरे । अन्य पेसामा सफल नभएका थापा गाईपालनमा भने सफल भएका हुन् ।

उनले भने, ‘मैले मासिक १ लाख बढी आम्दानी गर्दै आएको छु मेहनत गरे आफ्नै देशमा पैसा फल्दोरहेछ ।’ गाईपालनबाट ५ वर्षमा थापाले करिब ५० लाख रुपैयाँ आम्दानी गर्नुका साथै जिल्लाकै एक उदाहरणीय किसान बनेका छन् ।

प्रकाशित मिति: २२ वैशाख २०८२, सोमबार  १० : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।