नेपालको वैदेशिक व्यापार : निर्यात बढेपनि व्यापार घाटा चुलिँदै


काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा नेपालको वैदेशिक व्यापारमा मिश्रित भाव देखिएको छ । एकातिर वस्तु निर्यातमा उल्लेखनीय वृद्धि भएको छ भने अर्कोतिर व्यापार घाटामा पनि बढोत्तरी भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्षको नौ महिनामा देशको कुल वस्तु निर्यात ६५.२ प्रतिशतको उच्च दरले वृद्धि भई १ खर्ब ८८ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा निर्यातमा ३.७ प्रतिशतले कमी आएको थियो ।

गन्तव्य मुलुकका आधारमा हेर्दा भारततर्फको निर्यात सबैभन्दा धेरै ९२.६ प्रतिशतले बढेको छ । त्यसैगरी, चीनतर्फ ६.७ प्रतिशत र अन्य मुलुकतर्फ २५.८ प्रतिशतले निर्यात बढेको देखिन्छ ।

निर्यात भएका प्रमुख वस्तुहरुमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान र खोटो लगायत रहेका छन् । यसैबीच पाम तेल, जिंक शिट, अदुवा, जुश र तयारी पोशाक लगायतका वस्तुको निर्यातमा भने कमी आएको छ ।

निर्यात बढ्दा नेपालको आयातमा पनि वृद्धि देखिएको छ । सोही अवधिमा कुल वस्तु आयात १२.२ प्रतिशतले बढेर १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात २.८ प्रतिशतले घटेको थियो ।

देशगत आधारमा हेर्दा भारतबाट ७.७ प्रतिशत, चीनबाट १४.४ प्रतिशत र अन्य मुलुकबाट २४.९ प्रतिशतले आयात बढेको देखिन्छ । भटमासको कच्चा तेल, चामल/धान, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस् र खाने तेल लगायत वस्तुको आयात बढेको छ ।

यद्यपि पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाइजहाजको पार्टपुर्जा, रासायनिक मल र लेख्ने तथा छाप्ने कागज लगायतका वस्तुको आयात घटेको छ ।

निर्यातमा वृद्धि भए पनि आयात बढ्दा व्यापार घाटा पनि बढेको छ । समीक्षा अवधिमा व्यापार घाटा ६.४ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३४ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटामा २.८ प्रतिशतले कमी आएको थियो ।

तर सकारात्मक पक्ष के छ भने निर्यात/आयात अनुपात १४.४ प्रतिशत पुगेको छ र सो अनुपात अघिल्लो वर्षको सोही अवधिमा ९.८ प्रतिशत मात्रै थियो ।

समीक्षा अवधिमा भारतबाट मात्रै परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ३५ अर्ब ५५ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ११ अर्ब २ करोड बराबर थियो ।

व्यापारको संरचनागत विश्लेषण गर्दा समीक्षा अवधिमा कुल निर्यातमा मध्यवर्ती वस्तुको अनुपात ३३.५ प्रतिशत, अन्तिम उपभोग्य वस्तुको अनुपात ६५.३ प्रतिशत र पुँजीगत वस्तुको अनुपात १.२ प्रतिशत रहेको पाइएको छ ।

प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार  १८ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।