भारतको मात्रै होइन, चीन, अमेरिका र टर्कीसम्मको कुरकुरे खान्छन् नेपाली


काठमाडौँ । नेपाली बजारमा यत्रतत्र पाइने र सबैको मनमा बस्न सफल खाद्य पदार्थ हो – कुरकुरे, कुरमुरे र चिजबल । यी खाद्य वस्तुको आन्तरिक उत्पादन बढेतापनि बाहिरी देशबाट आयात हुने कुरकुरे, कुरमुरे, चिजबलको आँकडा करोडौँको छ ।

चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत) सम्म ५८ करोड २७ लाख १७ हजार रुपैयाँको कुरकुरे कुरमुरे र चिजबल आयात भएको छ ।

यो अवधिमा नेपालमा भारत, चीन, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, टर्की, अमेरिका र भियतनामबाट ५८ करोड २७ लाख १७ हजार रुपैयाँ बराबरको कुरकुरे, कुरमुरे र चिजबल आयात भएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार चैत मसान्तसम्म भारतबाट मात्रै ४२ करोड ६९ लाख ९४ हजार रुपैयाँको आयात भएको छ । यस्तै मलेशियाबाट १३ करोड १ लाख ८३ हजार रुपैयाँ, कोरियाबाट १ करोड १३ लाख ६३ हजार रुपैयाँ, चीनबाट ५१ लाख ३३ हजार रुपैयाँ, भियतनामबाट ४० लाख ७८ हजार रुपैयाँ, अमेरिकाबाट ५ लाख ६५ हजार रुपैयाँ, म्याक्सिकोबाट ३ लाख ५९ हजार रुपैयाँ र अन्य देशहरुबाट ४० लाख १६ हजार रुपैयाँ बराबरको कुरकुरे, कुरमुरे र चिजबल नेपाल भित्रिएको छ ।

यसरी नेपालीहरुको मनमा भारतको कुरकुरे मात्रै नभई अमेरिका, भियतनाम र टर्कीको चिजबलसम्म बसेको छ ।

यस्तै सोही अवधिमा कुल १० लाख ६७ हजार २२६ केजी कुरकुरे, कुरमुरे र चिजबल आयात भएकोमा भारतबाट मात्रै ९ लाख १२ हजार ५१७ केजी आयात भएको छ । यस्तै मलेशियाबाट १ लाख २० हजार ६७८ केजी, कोरियाबाट १७ हजार ३२० केजी, चीनबाट ५ हजार ८८१ केजी, भियतनामबाट ४ हजार ७८१ केजी, अमेरिकाबाट ५२३ केजी, म्याक्सिकोबाट ५११ केजी र अन्य देशहरुबाट ५ हजार ४ केजी आयात भएको छ ।

साउन देखि चैत महिनाको अवधिसम्ममा नेपालले ६ करोड ७८ लाख ३६ हजार रुपैयाँ बराबरको कुरकुरे, कुरमुरे र चिजबल निर्यात गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आवमा नेपालले निर्यात गरेको कुरकुरे, कुरमुरे र चिजबलमा कमी आएको छ । गत आवको सोही अवधिमा नेपालले १२ करोड ८१ लाख ९२ हजार रुपैयाँ बराबरको सो वस्तु निर्यात गरेको थियो ।

यस्तै गत आवको चैत मसान्तसम्ममा ६४ करोड २७ लाख ६७ हजार रुपैयाँ बराबरको कुरकुरे नेपाल आयात भएको थियो ।

उक्त अवधिमा भारतबाट ४७ करोड ९९ लाख १६ हजार रुपैयाँको आयात भएको थियो । मलेसियाबाट १४ करोड २० लाख ९४ हजार रुपैयाँ, कोरियाबाट ८९ लाख ३० हजार रुपैयाँ, चीनबाट ४९ लाख ८५ हजार रुपैयाँको आयात भएको थियो । यसैगरी भियतनामबाट १७ लाख ४९ हजार रुपैयाँ, अमेरिकाबाट ४ लाख ८ हजार रुपैयाँको आयात हुँदा जापानबाट १ लाख ९१ हजार रुपैयाँको आयात भएको थियो । अन्य देशबाट २२ लाख ७७ हजार रुपैयाँको आयात भएको थियो ।

यसैगरी अघिल्लो आर्थिक वर्ष २०७९/८० को ९ महिनामा ४८ करोड ६६ लाख ५६ हजार रुपैयाँको ९ लाख ४७ हजार ९९४ के.जी. कुरकुरे कुरमुरे र चिजबल आयात भएको थियो ।

उक्त अवधिमा भारतबाट ३४ करोड ६५ लाख ७५ हजार रुपैयाँ, मेलेशियाबाट १२ करोड १ लाख १५ हजार रुपैयाँ, कोरियाबाट ६१ लाख ५४ हजार रुपैयाँ, अमेरिकाबाट ९७ लाख ७० हजार रुपैयाँ, साउदी अरबबाट ३७ लाख ४२ हजार रुपैयाँको कुरकुरे कुरमुरे चिजबल आयात भएको थियो । यस्तै अन्य देशबाट २ लाख ९९ हजार रुपैयाँको कुरकुरे कुरमुरे र चिजबल आयात भएको थियो ।

पछिल्लो तीन आर्थिक वर्षको तथ्यांक तुलना गर्दा आव २०८०/८१ मा नेपालमा आयात भएको कुरमुरे, कुरकुरे र चिजबल, चालु आव र अघिल्लो आवको तुलनामा कम रहेको छ भने निर्यातमा पनि गिरावट आएको छ ।

पछिल्लो समयमा नेपालमै फरक स्वाद दिने गरी कुरकुरे, कुरमुरे र चिजबल उत्पादन कम्पनीहरुको संख्या बढ्दै जाँदा गत आवको तुलनामा यी वस्तुहरुको निर्यात घट्दै गएको छ ।

प्रकाशित मिति: २९ वैशाख २०८२, सोमबार  १८ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।