हस्तकला महासंघ उपाध्यक्षलाई ३ प्रश्न

‘राज्यले बुझिदिने हो भने अर्थतन्त्रको मेरुदण्ड बन्न सक्छ हस्तकला’

'सामान निर्यात गर्नुपर्नेमा सरकार मान्छे निर्यात गरेर बसेको छ'


काठमाडौँँ । हस्तकला क्षेत्र निर्यातको प्रचुर सम्भावना बोकेको क्षेत्र हो । यसले केही मात्रामा भए पनि नेपालको व्यापार घाटा घटाउन भूमिका खेलेको देखिन्छ ।

यस क्षेत्रले नेपालको सीप, कला, संस्कृति अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने काम गरेको छ । यसको प्रवद्र्धनमा सरकारले आवश्यक पहल गर्न सकेमा रोजगारीको पनि उत्तिैक सम्भावना रहेको विज्ञहरू बताउँछन् । यसको बजारीकरणमा सरकारले आवश्यक पहल गर्न सके रोजगारीका लागि बिदेसिने युवाको संख्या घट्ने सरोकारवालाहरूको भनाइ छ ।

३ प्रश्नको आजको अंकमा हामीले नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्यसँग हस्तकला विकासका लागि बजेटमा के–के कुरा समेटिनुपथ्र्याे, के–के समेटिए, महासंघले के पहल गरिरहेको छ लगायत विषयमा कुरा गरेका छौँ ।

  • सरकारले आगामी बजेटमा हस्तकला क्षेत्रलाई कसरी समेटेको छ, यसमा सरकारको धारणा कस्तो पाउनुभएको छ ?

हस्तकला क्षेत्र निर्यातको एकदम सम्भावना भएको क्षेत्र हो । आगामी आर्थिक वर्षको बजेटमा सरकारले थोरै कुरा समेटेको छ । तर, धेरै कुरा छुटाएको छ । बजेटका सकारात्मक र नकारात्मक दुइटै पाटो छन् ।

स्टार्टअपमा छुट, काष्ठकला प्रवद्र्धन गरी रोजगारी सिर्जना गरिने उल्लेख गरिएको छ । यो बजेटको राम्रो पक्ष हो । सुनचाँदीको पनि हस्तकलाको सामग्री बन्छ । तर, यसमा विलासिता कर लगाइएको छ । यसले हस्तकला व्यवसायलाई गाह्रो हुने देखिएको छ ।

यसमा नेपाली सीप, कला, पहिचान र जीवनशैली समेटिएको हुन्छ । नेपालको वनमा काठपात कुहिएर गइरहेको छ । तर, काठ आयात गरेर प्रयोग गर्नुपर्ने अवस्था छ । यस्तै अन्य कच्चा पदाथको पनि उपयोग सम्बन्धि सरकारले बजेटमा समेटेको छैन् ।

सरकारले क्रसर चलाएर रोडा गिट्टी निर्यात गर्ने अवस्था त हुँदैन । विभिन्न वन ऐनले पनि यसमा बाधा सिर्जना भएको छ । नेपाल पहाडी क्षेत्र बढी भएको देश हो । यहाँको जंगलमा प्रशस्त मात्रामा काठ छ । त्यसको प्रयोगमा पनि बजेटले ध्यान दिएको देखिँदैन ।

  • हस्तकलाको उत्पादन र निर्यातमा महासंघले के–के पहल गरेको छ र सरकारले के गर्नुपर्छ ?

हामीले धेरै कुरामा पहल गरेका छौँ । जसरी हुन्छ, निर्यात बढाउनुपर्छ भन्ने हाम्रो मुख्य उद्देश्य हो । त्यसमा सरकारले सहजीकरण गरिदिनुपर्‍यो । जति मात्रामा हुनुपर्ने हो, सरकारले गर्न सकेको छैन ।

निर्यातका लागि भन्सारमा हुने समस्यामा सरकारले सहजीकरण गरिदिनुपर्‍यो । जुन सेवा सहुलियत सरकारले दिनुपर्ने हो, त्यो पनि दिन सकेको छैन । रोजगारी सिर्जनाको अवस्था कमजोर छ ।

 सरकारले समान निर्यात ध्यानमा दिनुपर्नेमा मान्छे निर्यात भइरहेको छ । वर्षेनी लाखौँ युवाले रोजगारीको लागि देश छोडिरहेको छन् ।सरकारले  निर्यात बढाउनु भन्दा आयात बढाएर आयातमा कर लगाएर राजस्व धान्ने सोच विकास भएको छ । सरकारको यो सोच दुःखदायी हो ।

सरकारले बजारको सिर्जना गरिदिनुपर्ने हो । सरकार आफैँ पनि हस्तकलाका सामानको खरिदकर्ता हो । नीतिगत रूपमा नेपाली हस्तकलाका वस्तुहरू महँगो भए पनि किन्नुपर्छ भन्ने व्यवस्था छ ।

हस्तकलाको सामग्रीमा भ्याट लाग्दैन भने पनि बिल बनाउँदा धेरै झन्झट र समस्या भोग्नुपरेको छ । नीतिगत व्यवस्था भए पनि व्यवहारमा लागू हुन सकेको छैन । खरिद ऐनले पनि धेरै समस्या उत्पन्न गरेको छ ।

लामो समयदेखि हामीले सरकारसँग यस विषयमा जानकारी गराउँदै आए पनि सरकारले चासो दिएको छैन । नेपाली हस्तकलाको मुख्य बजार भनेको चीन हो । चीनसँगको व्यापारमा पनि धेरै समस्या छन् । यसले राज्यलाई पनि घाटा भइरहेको छ ।

  • हस्तकलामा दक्ष जनशक्तिको अवस्था कस्तो छ ?

जनशक्तिको विषय एकदमै चुनौतीपूर्ण अवस्थामा छ । अहिलेसम्म लोप भइसकेको अवस्था त छैन, तर पुस्तान्तरण सबैभन्दा चुनौतीपूर्ण छ ।

सरकारले यसमा ध्यान नदिएर रेमिट्यान्समै खुसी भएको अवस्था छ । रोजगारीका लागि बाहिर पठाउने मेनपावर खोल्नुको सट्टा सरकारले तालिम दिएर दक्ष जनशक्ति उत्पादनमा लाग्नुपर्छ ।

देशमै रोजगारी भएको अवस्थामा परिवार छाडेर विदेश जाने रहर कसैको हुँदैन । यहाँ अवसर नपाएर युवा बिदेसिएका हुन् । यसमा आवश्यक पहल त सरकारले गर्नुपर्ने हो । सहयोगी भूमिका निर्वाह गर्न महासंघ तयार छ ।

हिजोसम्म बाबुबाजेले गरिआएको कामले न पहिचान पायो, न सम्मान । यसैले नयाँ पुस्तामा आकर्षण नदेखिएको हो । यसमा पनि सरकारले आवश्यक काम गर्नुपर्छ ।

समय–समयमा आवश्यक तालिम दिने काम महासंघले गर्दै आए पनि सरकारले सहयोग गरेको छैन । स्थानीय सीप र कलालाई संरक्षण गरेर अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्छ । यसमा महासंघ लागिपरेको छ र सरकारले पनि आवश्यक पहलकदमी लिनुपर्छ ।

प्रकाशित मिति: २६ जेठ २०८२, सोमबार  १३ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।