जनकपुरधाम भन्सारबाट ३४ करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन


काठमाडौँ । जनकपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्म ३४ करोड २८ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आवमा ५७ करोड ७ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखिएको थियो ।

चालु आवको वार्षिक लक्ष्यको तुलनामा हालसम्म ६० दशमलव ७ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी रविन्सलाल दासले जानकारी दिए । उनका अनुसार गत आवको सोही अवधिको तुलनामा ५१ करोड ७४ लाख ९१ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको थियो ।

चालु आर्थिक वर्षको वैशाखसम्म कार्यालयको मुख्य भन्सार नाका जटहीबाट २८ करोड ६२ लाख ५९ हजार, रुपैयाँ भडरिया छोटी भन्सार नाकाबाट १८ लाख ३६ हजार रुपैयाँ, इनरुवा छोटी भन्सार नाकाबाट २२ लाख ९५ हजार रुपैयाँ र बाँकी जनकपुर भन्सार कार्यालयबाट राजस्व सङ्कलन भएको दासले जानकारी दिए।

कार्याललयले चालु आवको चैत मसान्तसम्ममा लिलामीसम्बन्धी परेका मुद्दामध्ये २ सय ९८ वटाको फैसला गरेको उनले बताए । ५सय ६५ लिलामीका मुद्दा परेकामध्ये २सय ९८ वटाको छिनोफानो गरी १करोड ५६ लाख २० हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।

लिलामीसम्बन्धी मुद्दाको प्रतिवेदन मूल्य ९ करोड १५ लाख ५६ हजार रुपैयाँ रहेको थियो । सो अवधिमा विभिन्न समयमा चोरी तस्करीका लिलामीसम्बन्धी जनकपुरधाम भन्सार कायालयको ११ मुद्दामध्ये ९ वटाको फैसला भएको छ ।

सशस्त्र प्रहरीको ४ सय १७ मध्ये २ सय १ मुद्दाको फैसला भएको छ भने नेपाल प्रहरीको १ सय ३७ लिलामीका मुद्दामध्ये ८८ वटाको छिनोफानो भएको सो कार्यालयबाट प्राप्त विवरणमा जनाइएको छ ।

जटही नाकाबाट अर्धतयारी कपडा, हार्डवेयरसम्बन्धी, टायल्स, कोइला, कृषि उपज, कृषिका लागि विषादी, खाद्यान्न, तरकारी, फलफूल, खेलकुद सामग्री, स्टेसनरी, तथा विभिन्न उद्योगका कञ्चापदार्थ, घरायसीलगायत अन्य दैनिक सामग्री आयात भएको कार्यालयका भन्सार अधिकृत दासले जानकारी दिए ।

प्रकाशित मिति: ४ जेठ २०८२, आइतबार  १५ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।