कोशी प्रदेश स्किल आईकन छनौट गर्दै सीप उत्सव २०८२ सकियो


विराटनगर । कोशी प्रदेशमा सीप विकास, उद्योग र रोजगारबीचको सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले उद्योग संगठन मोरङको आयोजना र इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा दुई दिनसम्म सञ्चालन भएको सीप उत्सव २०८२ कोशी प्रदेश स्किल आईकनको छनौट गर्दै समापन भएको छ ।

उद्योगको माग अनुसार दक्ष जनशक्ति उत्पादनका साथै रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाबीच सम्वाद र समन्वयको प्रयास गरिएको यस उत्सवमा अटोमोवाईल्स, सूचना प्रविधि र होटल म्यानेजमेन्ट गरी ३ विद्यामा सीप प्रतिष्पर्धा गराईएको आयोकले जनाएको छ ।

प्रतिष्पर्धामा मनमोहन स्मृति पोलिटेक्निक हातिमुडा मोरङका चन्द्रदेव यादव अटोमोवाईल विद्यामा, नर वहादुर कर्माचार्य वहुप्राविधिक विद्यालय सुनसरी ईटहरीका विवश कोईराला होटल म्यानेजमेन्ट विद्यामा र पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठान दमक झापाकी सोनम नेम्वाङ सूचना प्रविधि विद्यामा विजेता भई कोशी प्रदेश स्किल आइकन हुन सफल भएका छन् । तिनैजना विजेतालाई संगठनका अध्यक्ष राकेश सुराना र ईन्स्योर हेल्भेटासका टिम लिडर रविन्द्र वहादुर सिंहले नगद र प्रमाण पत्र प्रदान गरेका छन् ।

उत्सवको पहिलो दिन पूर्व वाल विकास सहजकर्ता, सूचना प्रविधि, होटल म्यानेजमेन्ट र इलेक्ट्रिकल विधामा ६ सय भन्दा वढी युवालाई प्रत्यक्ष तालिमको अनुभव गराई प्रमाण पत्र प्रदान गरिएको थियो । त्यसैगरी सोही दिन उद्योग तथा व्यवसाय क्षेत्रका विज्ञहरूद्वारा १२ सय भन्दा वढी विधार्थी तथा युवाहरुलाई विभिन्न सत्रहरूको माध्यमबाट प्रेरणा, वृति परामर्श र भविष्य निर्माणका लागि मार्गदर्शन गरिएको उद्योग संगठन मोरङले जनाएको छ ।

समापन कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले प्राविधिक जनशक्तिको परनिर्भरता कम गर्नका साथै स्वदेश मै दक्ष जनशक्ति उत्पादनको प्रचुर सम्भावना रहेको सन्देश प्रवाह गर्न सीप उत्सव सफल भएको बताए । उनले दक्ष जनशक्ति उत्पादनमा नीजि क्षेत्रको चासो र चिन्ता रहेको व्यक्त गर्दै संगठनको अग्रसरतामा भएको सीप उत्सवले दक्षता र अनुभव साटासाटको वातावरण तयार पारी प्रशिक्षार्थी, विद्यालय र उद्योग बीचको सहकार्यलाई थप प्रगाढ बनाएको धारणा व्यक्त गरे ।

ईन्स्योर हेल्भेटासका टिम लिडर रबिन्द्र वहादुर सिंहले प्राविधिक शिक्षा, सीप तालिम तथा डुअलभेट अप्रेन्टिसीप कार्यक्रमप्रति आकर्षण बढाई रोजगारीका अवसरहरू पहिचान र प्रवद्र्धन गर्न आगामी दिनमा इन्स्योर हेल्भेटासले अन्य प्रदेशहरुमा पनि सीप उत्सव आयोजना गरी केन्द्रिय स्तरमा अन्तिम प्रतिष्पर्धा गराई स्किल आईकन छनौट गर्ने बताए ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वय, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद कोशी प्रदेश, कम्प्यूटर एशोसिएसन अफ नेपाल महासंघ मोरङ, होटल एशोसिएसन अफ नेपाल कोशी प्रदेश, नेपाल अटोमोवाईल डिलर्स एशोसिएसनको सहयोगमा नीजि क्षेत्रको नेतृत्वमा सीप, दक्षता प्रदर्शन तथा वृति परामर्श करियर काउन्सेलिंग र अनुभव साटासाट गर्ने अभिप्रायका साथ दुई दिने सीप उत्सव २०८२ आयोजना गरिएको थियो ।

प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार  १४ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।