काठमाडौँ । सरकारले ब्याज अनुदानमा प्रदान गर्दै आएको सहुलियत ऋणबाट लाभ लिने ऋणीहरुको संख्या घट्दै गएको छ । राष्ट्र बैंकको तथ्यांक हेर्दा सहुलियतमा ऋण लिनेको संख्या घट्दै गएको देखिएको हो ।
सहुलियत ऋणमा चालु आर्थिक वर्ष सन् २०२४/२५ को १० महिनामा विभिन्न शीर्षकमा ऋण लिनेको संख्या १ लाख २५२ जना रहेको छ । उक्त संख्याका ऋणीहरुले ८ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ ऋण लिएको तथ्यांकमा उल्लेख गरिएको छ ।
गत वर्षको तुलनामा यो वर्ष २० हजार २२ जना ऋणीहरु घटेका छन् । ऋणीहरु घट्दा ऋण रकम पनि ३ अर्ब ९२ करोड ८६ लाख रुपैयाँले घटेको छ ।
गत आव २०२३/२४ मा १ लाख २० हजार २७४ जनाले १२ अर्ब ६८ करोड १९ लाख रुपैयाँ ऋण लिएका थिए ।
अघिल्लो आव २०२२/२३ मा १ लाख ४५ हजार ७७८ जना ऋणीहरुले १९ अर्ब ७० करोड ६१ लाख रुपैयाँ ऋण लिएका थिए ।
कृषि कर्जामा बढी आकर्षण
राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै आकर्षण कृषि कर्जामा देखिएको छ । चालु आवको १० महिनामा कृषि कर्जामा ३७ हजार ७६८ जनाले ६ अर्ब २७ करोड ५० लाख रुपैयाँ ऋण लिएका छन् । कृषि कर्जामा ऋण लिनेको संख्यामा पनि अघिल्लो वर्षको तुलनामा ८ हजार ५८८ जना कमि आएको छ । ऋण रकममा २ अर्ब ४१ करोड ४८ लाख रुपैयाँले कमि आएको छ ।
त्यस्तै, अर्को सहुलियत कर्जा महिला उद्यमी ऋणमा ६० हजार ९३७ जनाले २ अर्ब ३५ करोड ६४ लाख रुपैयाँ ऋण लिएका छन् । ऋण लिनेको संख्याका आधारमा हेर्ने हो भने महिला उद्यमशील कर्जामा ऋण लिनेको संख्या कृषि कर्जा भन्दा धेरै देखिएको छ । तर रकमका आधारमा कृषि कर्जा धेरै ऋण लगानी भएको छ ।
त्यस्तै, कपडा उद्योगका लागि ऋण लिने ऋणीहरु ९९ जना रहेका छन् । उक्त ऋणीहरुले ८ करोड ६४ लाख ऋण लिएका छन् । दलित समुदाय व्यवसाय विकास कर्जा अन्तर्गत ६५१ जनाले १ करोड ८३ लाख ऋण लिएका छन् ।
सरकारले युवा फर्कन आप्रवासी कामदारहरुको लागि परियोजना ऋणको व्यवस्था पनि गरेको छ । सो कर्जामा ५५९ जनाले लाभ लिएका छन् । उक्त ऋणीहरुले १ करोड ३२ लाख रुपैयाँ ऋण लिएको बैंकको तथ्यांकमा उल्लेख छ ।
उच्च प्राविधिक शिक्षा अध्ययनका लागि सर्टिफिकेट धितोमा उपलब्ध हुने भनिएको कर्जामा हालसम्म ६९ जनाले मात्र ऋण लिएका छन् । उक्त ऋणीहरुले उच्च शिक्षा अध्ययनका लागि १३ लाख रुपैयाँ ऋण लिएका हुन् ।
शिक्षित युवा स्वरोजगार ऋणमा ७५ जनाले ११ लाख रुपैयाँ ऋण लिएका छन्, भने युवा स्वरोजगार कर्जाबाट ६३ जनाले ११ लाख रुपैयाँ ऋण लिएका छन् ।
त्यस्तै, भुकम्प पिडितका लागि आवास ऋण २९ जनाले १ लाख ३० हजार रुपैयाँ कर्जा लिएका छन् । सबैभन्दा कम ऋण लिनेको संख्या सीटिइभिटी स्वीकृत संस्थाद्धारा तालिमका लागि प्रदान गरिने कर्जामा रहेको छ । यसमा जम्मा २ जनाले ४३ हजार ११६ रुपैयाँ ऋण लिएका छन् ।
प्रतिक्रिया