हिम स्टार उर्जा कम्पनीको आईपीओमा असार २४ गतेदेखि सर्वसाधारणले आवेदन दिन पाउने


काठमाडौँ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको थियो । स्थानिय र वैदेशिक रोजगारीमा रहेकाको आईपीओ बाँडफाँड पश्चात् कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ९३ हजार २५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

अब भने कम्पनीले कर्मचारीहरुलाई १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरुका लागि ४६ हजार ६२५ कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आइपीओमा असार २४ गतेदेखि असार २७ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयसम्म सम्पूर्ण कित्ता बिक्री नभएमा भने निष्काशन अवधि साउन ६ गतेसम्म लम्बिने छ ।

सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार  ०७ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।