काठमाडौँ । माबिलुङ्ग इनर्जी लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरण अन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ३ करोड ८५ लाख ८२ हजार ४०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८५ हजार ८२४ कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।
उक्त शेयर खरिदका लागि संखुवासभा जिल्लाको मादि नगरपालिका– ७, ८, ९ र चैनपुर नगरपालिका– २, ३, ७, ८, ९ मा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
साथै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५० लाख ४७ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार ४७१ कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको छ ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन ४ गते हुनेछ भने ढिलोमा साउन १९ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ४ गतेभित्र आवेदन दिनु पर्नेछ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया